Province 2 एन्फा लिगः मनकामना र बेङ्खडी फाइनलमा भिड्ने
गोलनेपाल

चन्द्रपुर । मनकामना युवा क्लब, रौतहट र बेङ्खडी युवा क्लब, महोत्तरी जारी चन्द्रपुर मेयर प्रदेश नम्बर २ एन्फा लिग फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।

चन्द्रपुर–६ रौतहट स्थित शेर बहादुर दर्लामी स्मृति हातेमालो खेलमैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा मनकामनाले हिम कस्तुरी युवा क्लब, सिराहा माथि १–० को जित निकाल्यो । मनकामनाका लागि दोस्रो हाफतर्फ ३४औं मिनटमा अनिल रानाले एक मात्र निर्णायक गोल गरे ।

खेलमा विजयी टोली मनकामना युवा क्लबका शिव श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

बेङखडीसँग पर्सा निराश

त्यस्तै दोस्रो सेमिफाइनलमा भने बेङ्खडीले पर्सा फुटबल क्लब माथि २–० को जित निकाल्यो । बेङ्खडीको जितमा दोस्रो हाफको १२औं मिनटमा कृष्ण रानाले पहिलो गोल गरे भने ३१औं मिनटमा दिपेश राईले गरे ।

खेलको म्यान अफ द म्याच विजयी टोली बेङ्खडीका खडक बहादुर बलमपाखी घोषित भए । उनले पनि पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । अब फाइनलमा मनकामना र बेङ्खडी फागुन ७ गते उपाधिका लागि भिड्ने छन् ।

प्रदेश फुटबल संघ, प्रदेश नम्बर २ को आयोजना तथा चन्द्रपुर नगरपालिका र रौतहट जिल्ला फुटबल संघको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

Post Comments