AFC/FIFA फिफा यु–२० विश्वकपः क्वाटरफाइनलमा कोरिया
गोलनेपाल

काठमाडौं (एजेन्सी) । एसियाली राष्ट्र दक्षिण कोरिया अर्जेन्टिनामा जारी फिफा यु–२० विश्वकपको क्वाटरफाइनलमा पुग्ने एक्लो एसियाली टोली बनेको छ ।

शुक्रबार बिहान सम्पन्न रोमाञ्चक अन्तिम प्रिक्वाटरफाइनलमा कोरियाले इक्वेडरमाथि ३–२ को जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो । खेलको ११औं मिनटमा लि योङ जुनको गोलबाट कोरियाले खेलमा अग्रता बनाएको थियो । १९औं मिनटमा बाइ जुन होले कोरियाको त्यो अग्रता दोब्बर पारे ।

यद्यपि ३६औं मिनटमा जस्टिन क्वीरोले इक्वेडरका लागि पेनाल्टीबाट पहिलो गोल फर्काएका थिए । त्यस्तै दोस्रो हाफ शुरु भएको तेस्रो मिनट मै चोई सुक ह्युनले कोरियाका लागि तेस्रो तथा निर्णायक गोल गर्दै टोलीको जित सुनिश्चित गरे । उता खेलको ८४औं मिनटमा सेवास्टिन गोन्जालेजले इक्वेडरका लागि दोस्रो गोल फर्काए तापनि टोलीको हार टार्न अबेर भईसकेको थियो ।

त्यस्तै बिहीबार राती नै सम्पन्न अर्को प्रिक्वाटरफाइनलमा उरुग्वेले गाम्बियालाई शून्यका विरुद्ध १ गोलले हरायो । ६५औं मिनटमा एन्डरसन डुआर्टेले गरेको एक मात्र गोल दक्षिण अमेरिकी राष्ट्रलाई क्वाटरफाइनलमा पुर्याउन निर्णायक गोल बन्यो ।

क्वाटरफाइनल समिकरण पूरा

त्यस्तै बिहीबारको खेलहरुसँगै प्रतियोगिताको क्वाटरफाइनल समिकरण पनि पूरा भएको छ । क्वाटरफाइनल खेलहरु ३ जुन (शनिबार राती) देखि शुरु हुँदैछन् । जसअन्तरगत शनिबार हुने दुई क्वाटरफाइनलतर्फ इजरायलले ब्राजील तथा कोलम्बियाले इटालीसँग खेल्नेछ ।

त्यस्तै ४ जुन आइतबारका दिन हुने दुई क्वाटरफाइनलतर्फ दक्षिण कोरियाले आयोजक अर्जेन्टिनालाई हराएको नाइजेरियासँग प्रतिस्पर्धा गर्नेछ भने सोही दिन हुने अन्तिम क्वाटरफाइनलमा उरुग्वेले अमेरिकासँग भिड्ने छ ।

<iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Ffifaworldcup%2Fposts%2Fpfbid033KhuqBRNmvN7NDo21MAgeZYQhqeYknuKztPmxTTra4HKrnAhuHS67F9mA11yjKeml&show_text=true&width=500" width="500" height="615" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share"></iframe>

 

Post Comments