मोरङ। विभागीय टोली नेपाल पुलिस क्लबले तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। पथरी शनिश्चरेस्थित प्रस्तावित पथरी रंगशालामा आज सम्पन्न फाइनल खेलमा झापा–११ एफसीलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्दै नेपाल पुलिस क्लब च्याम्पियन बनेको हो।
निर्धारित समयको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
खेलमा सुरुवाती अग्रता नेपाल पुलिस क्लबले बनाएको थियो। नेपाल पुलिसका जोन बिष्टले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलको अग्रता कायम राखेको नेपाल पुलिसले दोस्रो हाफमा बराबरी गोल खान पुग्यो।
दोस्रो हाफमा झापा–११ का प्रशान्त लक्षमले बक्सबाहिरबाट गरेको प्रहार नेपाल पुलिसका खेलाडीलाई लाग्दै गोलमा परिणत भएपछि खेल १–१ को बराबरीमा पुगेको थियो।
त्यसपछि नेपाल पुलिसका सुभाष थारूले फ्रिकिकमार्फत गोल गर्दै टोलीलाई पुनः २–१ को अग्रता दिलाए। तर, झापा–११ ले खेलमा पुनरागमन गर्यो। प्रताप सिंह राईको क्रसमा आशिष चापागाईंले गोल गरेपछि झापा–११ ले खेललाई २–२ को बराबरीमा ल्याएको थियो।
निर्धारित समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा झापा–११ का निमा तामाङको प्रहार क्रसबारमा लागेपछि नेपाल पुलिस क्लबले ५–४ गोलको जित निकाल्दै उपाधि आफ्नो नाममा लेखाउन सफल भयो।
फाइनल खेलको प्लेयर अफ द म्याच झापा–११ एफसीका रोमन भुजेल घोषित भए। प्रतियोगितामा उत्कृष्ट गोलरक्षक अमित तमटा, सर्वोत्कृष्ट खेलाडी सुजन मगर, उत्कृष्ट प्रशिक्षक चेतन घिमिरे तथा सर्वाधिक गोलकर्ता प्रताप सिंह राई घोषित भए।