हरिवन । चतुर्भुजेश्वर खेलमैदान हरिवन नगरपालिका वडा नं १० सुखेपोखरी सर्लाहीमा जारी प्रथम चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन कपको पहिलो सेमिफाइनल प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भएको छ। शनिबार गोलबजार स्पोर्ट्स क्लब सिराहा र युनाइटेड युवा क्लब महोत्तरी सेमिफाइनलमा प्रतिस्पर्धा गरेका हुन।
रोचक र प्रतिस्पर्धात्मक रूपमा सम्पन्न खेलमा गोलबजार स्पोर्ट्स क्लब सिराहालाई पेनाल्टी सुटआउटमा ३-० गोलअन्तरले पराजित गरी युनाइटेड युवा क्लब महोत्तरीले उपाधि यात्रा तय गरेको हो। निर्धारित समय दुवै टोली गोलरहित बराबरीमा खेलेपछि उक्त खेलको अन्तिम निर्णय पेनाल्टी सुटआउटबाट निकालिएको थियो। दोस्रो हाफको केही मिनेट नबित्दै युनाइटेड युवा क्लब महोत्तरीका गणेश भुजेलले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको थियो।
जब १० खेलाडीमा समेटिएको महोत्तरीले कुनै पनि समय गोलबजार स्पोर्ट्स क्लबलाई कम खेलाडी भएको आभास हुने मौका नै दिएन। पेनाल्टी सुटआउटमा गोलबजार स्पोर्ट्स क्लब सिराहाका जम्मा तीन खेलाडीले पेनाल्टी प्रहार गर्दा पहिलो प्रहार महोत्तरीका गोलरक्षक सागर सुस्लिङले जोगाउन सफल भए भने दोस्रो प्रहर पोलमा लाग्दै फर्किएको थियो। त्यसैगरी तेस्रो प्रहार भने आकाशिन पुग्दा अन्य दुई प्रहार बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिन पुग्यो। साथै युनाइटेड युवा क्लब महोत्तरीले तीनैवटा प्रहारलाई गोलमा परिणत गर्दै समग्रमा ३-० को जित हासिल गरेको हो। उक्त खेलमा युनाइटेड युवा क्लब महोत्तरीका गोल रक्षक सागर सुस्लिङ प्लेयर अफ द म्याच हुँदै नगद रु.२५०० सहित ट्रफी र रेड बुल प्राप्त गरेका हुन्।
आइतबार प्रतियोगिताको दोस्रो सेमीफाइनल दिनको ठिक २ बजे घरेलु टोली चतुर्भुजेश्वर फुटबल क्लब सर्लाही र बेङ्गाडावर युवा क्लब धनुषा प्रतिस्पर्धा गर्नेछन्।