ANFA आयोजक जागृतिलाई दोस्रो जागृति कपको उपाधि
सुरज राना मगर

सखुवानी । साविक विजेता समेत रहेको आयोजक जागृति क्लब सखुवानी, तिलोत्तमाले घरेलु मैदान मै सम्पन्न दोस्रो जागृति कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि लगातार दोस्रोपटक जितेको छ ।

तिलोत्तमा–१५ स्थित मधवलिया माविको खेलमैदानमा सोमबार सम्पन्न फाइनलमा जागृतिले बुद्ध फुटबल क्लब, भैरहवालाई ३–२ ले हराउँदै उपाधि रक्षा गर्न सफल भएको हो । जागृतिको जितमा अस्मित शर्माले दुई गोल गर्दा रोशन थापाले एक गोल गरे । उता पराजित बुद्धका लागि जितेश गुरुङले एक गोल गर्दा अर्को एक गोल आयोजक जागृति कै सुमित मल्लाहले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।

विजेता बनेको जागृति क्लबले उपाधिसहित नगद ५१ हजार हात पार्दा उपविजेता बुद्ध एफसीले २६ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

जागृतिका अस्मित शर्मा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार चरी फरर क्लबका सबी गुरुङले हात पार्दा उत्कृष्ट गोलरक्षक बुद्धका निशान राना चुनिए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ का वार्ड अध्यक्ष खेमराज गुरुङ, आयोजक क्लबका अध्यक्ष जगत बहादुर राना, कार्यक्रम व्यवस्थापक झक बहादुर गुरुङ लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments