News स्थानीय तह शहिद स्मृति गोल्डकप फागुनमा, युथ एकेडेमी पनि सञ्चालन गर्ने तयारी
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । मकवानपुर जिल्ला फुटबल संघ र मकवानपुरका स्थानीय तहहरुको संयुक्त आयोजनामा हुने स्थानीय तह शहिद स्मृति गोल्डकपको पाँचौं संस्करण फागुनमा हुने भएको छ । प्रतियोगिता आयोजनाका लागि स्थानीय तहहरुबाट बजेट बिनियोजन समेत भईसकेको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले बताए ।

मकवानपुर जिल्ला फुटबल संघले प्रतियोगिताको चौथो संस्करणको आयव्यय सार्वजनिक गर्ने कार्यक्रममा गोल्डकपको पाँचौं संस्करणबारे पनि जानकारी गराएको हो । प्रतियोगिताको चौथो संस्करणबाट कुल १ करोड ३१ लाख ५६ हजार ४ सय ५४ रुपैयाँ आम्दानी भएकोमा त्यसबाट खर्च खटाएर २१ लाख ३६ हजार ४ सय १ रुपैयाँ नाफा भएको आर्थिक संयोजक सुनिल लोप्चनले बताए ।

स्मरण रहोस, यसै वर्षको जेठ १९ देखि ३० गतेसम्म पिप्ले क्याम्पाडाँडा रंगशालामा भएको गोल्डकपको चौथो संस्करण त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो । उपविजेता भने विजय युथ क्लब बनेको थियो । विजेताले १५ लाख पाउँदा उपविजेताले १० लाख प्राप्त गरेको थियो ।

युथ एकेडेमी सञ्चालन गर्ने तयारी

त्यस्तै आयव्यय सार्वजनिक गर्ने कार्यक्रम मै मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले फुटबल संघ र हेटौडा उपमहानगरपालिकाले सहकार्य गरी युथ फुटबल एकेडेमी सञ्चालन गर्ने तयारीमा रहेको खुलासा गरे ।

एकेडेमी सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार लगायतका कामहरुको थालनी गर्न छिटै आवश्यक सल्लाह र अध्ययन गर्ने अध्यक्ष लामाले बताए । जिल्लाभित्र रहेका क्षमतावान र उत्कृष्ट युवा खेलाडीहरुलाई राष्ट्रियस्तरसम्म पुर्याउन र मकवानपुरलाई फुटबलको हव बनाउन आफूहरु गम्भिरताका साथ लागि परेको बताए ।

युथ एकेडेमी सञ्चालन गर्ने आफूहरुको योजना र तयारी रहे पनि यो काममा सबैको साथ, सुझाव र सहयोगको अपेक्षा गरिएको अध्यक्ष लामाले बताए । “मकवानपुरलाई फुटबलको उर्बर भूमी बनाउन हामी सधै लागि परेका छौं । फुटबल कै माध्यमबाट हामी जिल्लालाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा परिचित बनाउन प्रयासरत पनि छौं ।” अध्यक्ष लामाले भने ।

Post Comments