भरतपुर । मर्निङ फुटसल टिम, चितवनको आयोजनामा सम्पन्न दोस्रो भेट्रान्स फुटसल प्रतियोगिताको उपाधि पिभिटी पोखरा भेट्रान्सले जितेको छ ।
फाइनलमा पिभिटीले आयोजक मर्निङ फुटसल टि (ए) लाई २–० ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । पिभिटीको जितमा अजय गुरुङ र अरुण गुरुङले गोल गरे ।
विजेता बनेको पिभिटी पोखरा भेट्रान्सले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता आयोजक मर्निङ फुटसल टिमले ५० हजारसहित ट्रफी, मेडलमा चित्त बुझायो ।
पिभिटी पोखरा भेट्रान्सका अरुण गुरुङ फाइनल खेलको म्यान अफ दि म्याच बने । त्यस्तै अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक मर्निङ फुटसलका बिकास राजभण्डारी बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार पिभिटी पोखरा भेट्रान्सका अजय गुरुङले हात पारे । उत्कृष्ट सबैले जनही ५–५ हजार र ट्रफी हात पारे ।
प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने पिभिटी पोखरा भेट्रान्सका अरुण गुरुङ घोषित भए । सर्वश्रेष्ठ खेलाडी बनेका अरुणले नगद ७ हजार सहित ट्रफी हात पारे ।