News चौथो कार्तिकेय कुमार गोल्डकपः बन्दीपुर सेमिफाइनलमा
गोलनेपाल

कर्जन्हा । बन्दीपुर युथ क्लब, सिराहा यहाँ जारी चौथो कार्तिकेय कुमार गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

शनिबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा बन्दीपुरले हर्दि युवा समाज, चितवनलाई २–१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बन्न सफल भएको हो ।

बन्दीपुरको जितमा हार्दिक भण्डारी र सुरेन्द्र श्रेष्ठले गोल गरे । उता पराजित हर्दि युवा समाजका लागि भने उमेश सञ्जलले गोल गरेका थिए । खेलमा बन्दीपुरका सुरेन्द्र श्रेष्ठ म्यान अफ दि म्याच बने ।

प्रतियोगिता अन्तर्गत कार्तिक २३ गते आइतबारको पहिलो सेमिफाइनल खेल पर्सा राईडर एफसी, बिरगंज र बिराटनगर सिटी फुटबल क्लब, मोरङ बीच हुने आयोजकले जानकारी दियो ।

कर्जन्हा नगरपालिका शिक्षा तथा खेलकुद शाखा, सिरहाको आयोजना र बन्दीपुर युथ क्लब, कर्जन्हा, सिरहाको सह–आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक २६ गतेका दिन हुनेछ ।

 

Post Comments