News छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ वार्ड नम्बर ३ र महिलातर्फ वार्ड नम्बर ४ लाई उपाधि
गोलनेपाल

मरिण । युवा तथा खेलकुद विकास समिति, मरिण गाउँपालिका, सिन्धुलीको आयोजनामा सम्पन्न छैठौं मरिण गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ वार्ड नम्बर ३ र महिलातर्फ वार्ड नम्बर ४ ले उपाधि जितेको छ ।

बुधबार सम्पन्न पुरुषतर्फको फाइनलमा वार्ड नम्बर ३ ले वार्ड नम्बर ७ लाई ५–१ को फराकिलो अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

पुरुष फुटबलको विधागतर्फ उत्कृष्ट गोलरक्षक वार्ड नम्बर ३ का राजन माझी बन्दा उत्कृष्ट डिफेन्डर पनि वार्ड नम्बर ३ कै बिशन मोक्तान चुनिए । उत्कृष्ट मिडफिल्डर वार्ड नम्बर ७ का सन्देश थिङ बन्दा उत्कृष्ट फरवार्ड वार्ड नम्बर ७ कै राजकुमार माझी बने । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने वार्ड नम्बर ३ का सुदिप मोक्तान घोषित भए ।

त्यस्तै बुधबार नै भएको महिलातर्फको फुटबल उपाधि साविक विजेता वार्ड नम्बर ४ ले जितेको छ । फाइनलमा वार्ड नम्बर ४ ले वार्ड नम्बर ३ लाई पेनाल्टी शुटआउटमा २–१ ले हराउँदै उपाधि उचालेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

त्यसैगरी विधागततर्फ उत्कृष्ट गोलरक्षक वार्ड नम्बर ४ की कबिता माझी बन्दा उत्कृष्ट डिफेन्डर वार्ड नम्बर ३ की सुस्मिता थिङ बनिन् । उत्कृष्ट मिडफिल्डर वार्ड नम्बर ४ की सुस्मिता माझी चुनिदा उत्कृष्ट फरवार्ड वार्ड नम्बर ३ की लक्ष्मी लो बनिन् । त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने वार्ड नम्बर ४ कै गोलरक्षक कबिता माझी घोषित भईन् ।

विजेता बनेका पुरुष तथा महिला फुटबल टोलीले उपाधिसहित नगद ४०–४० हजार हात पार्दा उपविजेता बनेका दुवै टोलीहरुले पनि समान २०–२० हजारसहित ट्रफी, मेडलमा चित्त बुझाए ।

Post Comments