बुइपा । बुधबारदेखि शुरु भएको प्रभुराम राई आमन्त्रित कप खुला नकआउट फुटबल प्रतियोगितामा आयोजक बुइपा–११ स्पोर्टस क्लबले विजयी शुरुवात गरेको छ ।
यलम्बर खेलमैदानमा भएको उद्घाटन खेलमा बुइपा–११ ले एसेलुखर्क गाउँपालिकालाई ४–० को फराकिलो अन्तरले हराउँदै विजयी शुरुवात गरेको हो । बुइपा–११ का लागि प्रविन राईले दुई गोल गर्दा डिकेन राई र मिलन राईको नाममा एक–एक गोल रह्यो । खेलमा बुइपा–११ का लागि दुई गोल गरेका प्रबिन राई म्यान अफ दि म्याच समेत चुनिए ।
यो जितसँगै आयोजक बुइपा–११ क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत माघ ८ गते बिहीबार तीन खेलहरु हुने आयोजकले जानकारी दियो । जसअन्तर्गत खरम्बु स्पोर्टस क्लबले खोटाङ फुटबल एकेडेमीसँग खेल्नेछ भने दोस्रो खेल सृजना युथ क्लब र नेर्पो स्पोर्टस क्लबबीच हुनेछ । त्यस्तै तेस्रो खेल रणभिम गण मुडे र गछिया युवा क्लबबीच हुने आयोजकले जानकारी दियो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राई लगायतले गरेका थिए ।
बुइपा–११ स्पोर्टस क्लब, खोटाङको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ ११ गतेका दिन हुनेछ ।