News प्रदेश २ मा शुरु भयो एन्फा लिग, मनकामनाको विजयी शुरुवात
गोलनेपाल

चन्द्रपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रम अनुसार प्रदेश फुटबल संघ प्रदेश नम्बर २ को आयोजनामा चन्द्रपुर मेयर प्रदेश नं. २ एन्फा लिग फुटबल प्रतियोगिता शुरु भएको छ ।

चन्द्रपुर–६ रौतहट स्थित शेर बहादुर दर्लामी स्मृति हातेमोलो खेलमैदानमा भएको उद्घाटन खेलमा मनकामना युवा क्लब, रौतहटले बिजयी शुरुवात गर्यो । विजयी शुरुवात गर्ने क्रममा मनकामनाले शम्भुनाथ युवा क्लब, सप्तरीलाई १–० को झिनो अन्तरले हरायो ।

खेलको म्यान अफ द म्याच विजयी टोली मनकामना युवा क्लबका बिकी चाम्लिङ राई घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे ।

त्यसअघि प्रतियोगिताको उद्घाटन पूर्व सूचना तथा सञ्चार मन्त्री तथा हाल नेपाली काँग्रेसका खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले एक कार्यक्रमका बीच गरेका थिए ।

प्रतियोगिता अन्तरगत मंगलबार दुई खेलहरु हुनेछन् । पहिलो खेलमा बैंखडी युवा क्लब, महोत्तरी र युनिभर्सल युवा क्लब, सर्लाही भिड्ने छन् भने दोस्रो खेलमा हिम कस्तुरी युवा क्लब, सिराहा र यज्ञ भुमि युवा समाज, धनुषा आमने सामने हुने छन् ।

चन्द्रपुर नगरपालिका र रौतहट जिल्ला फुटबल संघको विशेष सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिने प्रदेश फुटबल संघ, प्रदेश नम्बर २ का अध्यक्ष नेपाल कार्कीले जानकारी दिए ।

प्रदेश नम्बर २ का कुल आठ टोलीहरुको सहभागिता रहेको छ । सहभागी आठ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिता फाइनल खेल आउँदो फागुन ७ गतेका दिन हुनेछ ।

 

Post Comments