बसही । राइजिङ स्टार फुटबल क्लब, भमुही, नवलपरासी यहाँ जारी आठौं बसन्त कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको क्वाटरफाइनलतर्फ राइजिङ स्टारे मेस्सी फ्रेस हाउस, रुपन्देहीलाई २–१ ले हराउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । राइजिङ स्टारका लागि विश्वास सुनार र अविनाश भास्करले गोल गरे । उता पराजित मेस्सी फ्रेश हाउसका लागि भने कप्तान आशिष पुनले एक मात्र गोल फर्काएका थिए । खेलमा राइजि« स्टारका सबिन प्रजापति म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत माघ १२ गते सोमबारको क्वाटरफाइनल खेल भैरव स्पोर्टस क्लब, नवलपरासी र फर्साटिकर युवा क्लब, रुपन्देहीबीच हुने आयोजकले जानकारी दियो ।
बसन्त युथ क्लब, सरावल–१, बसही, नवलपरासीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १५ हजार हात पार्नेछ भने उपविजेताले ५५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ १६ गतेका दिन हुनेछ ।
