News मनकामनाको जितमा इमानको ह्याट्रिक, शम्भुनाथ पनि सफल
गोलनेपाल

चन्द्रपुर । चन्द्रपुर मेयर प्रदेश नम्बर २ एन्फा लिग फुटबल प्रतियोगितामा मनकामना युवा क्लब, रौतहटले शानदार जित हात पारेको छ । प्रतियोगिताको समूह ए मा रहेको मनकामनाले पर्सा फुटबल क्लबलाई ५–१ को फराकिलो अन्तरले हरायो ।

चन्द्रपुर–६ रौतहट स्थित शेर बहादुर दर्लामी स्मृति हातेमालो खेलमैदानमा भएको खेलमा मनकामना लागि इमान लामाले ह्याट्रिक गरे । त्यस्तै मनकामनाका लागि सुरेश क्षेत्रीले पनि एक गोलको योगदान दिए भने थप एक गोल मनकामनाले विपक्षी खेलाडीको आत्मघाती गोलका रुपमाउ उपहार पाएको थियो ।

उता पराजित पर्साका लागि सुरज डंगोलले एक मात्र सान्त्वना गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच मनकामनाका ह्याट्रिककर्ता इमान लामा घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

शम्भुनाथलाई पनि सफलता

त्यस्तै बुधबार नै भएको समूह ए तर्फको अर्को खेलमा शम्भुनाथ युवा क्लब, सप्तरीले मौवा देवी युवा क्लब, बारालाई २–१ ले हरायो । शम्भुनाथको जितमा दिप्सन राई र बिनोद राईले गोल गरे । उता पराजित मौवा देवीका लागि सुजन राज गौतमले एक मात्र गोल फर्काएका थिए ।

खेलको म्यान अफ द म्याच शम्भुनाथका बिनोद राई घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत माघ २९ गते बिहीबार एक मात्र खेल हुने आयोजकले जनाएको छ । जसअन्तरगत समूह बी तर्फ यज्ञ भुमि युवा समान, धनुषा र युनिभर्सल युवा क्लब, सर्लाही भिड्ने छन् ।

प्रदेश फुटबल संघ, प्रदेश नम्बर २ को आयोजना तथा चन्द्रपुर नगरपालिका र रौतहट जिल्ला फुटबल संघको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

प्रतियोगितामा सहभागि आठ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल भने आउँदो फागुन ७ गतेका दिन हुनेछ ।

Post Comments