गोरखा । जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजनामा गोरखा नगरपालिका वडा नम्बर -१० स्थित छेवेटार खेलमैदानमा जारी प्रथम पृथ्वीनारायण गोल्डकप अन्तर्गत मङ्गलबार श्री भगवती टोखा क्लब र सशस्त्र प्रहरी बल एपिएफ बीचको रोमाञ्चक खेल सम्पन्न भएको छ।
उक्त खेलमा भगवती टोखाले एक शून्यको साँघुरो नतिजामा विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। पहिलो हाफ गोल रहित बराबरीमा टुङ्गिएको उक्त खेल दोस्रो हाफ थप रोमाञ्चक बनेको थियो। दोस्रो हाफको १२ औँ मिनेटमा अनिस तामाङको फ्री किक प्रहारलाई वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका इडिया अनिसेटले हेड मार्फत उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाउन सफल भएका थिए।
त्यसपश्चात् बाँकी समय दुवै टोलीहरूले गोल गर्न नसक्दा उक्त गोल नै निर्णायक बन्न पुगेको हो। साथै उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका भगवती टोखाका दीपक थापा म्यान अफ दि म्याच हुँदै नगद रु.५००० प्राप्त गरेका छन्। यो जितसँगै भगवती टोखाले सेमीफाइनलमा चित्लाङ फुटबल क्लबसँगको भेट पक्का गरेको हो।
बुधबार प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आयोजक जिल्ला खेलकुद विकास समिति गोरखा र नेपाल पुलिस क्लब काठमाडौँ दिनको ठिक २ बजे प्रतिस्पर्धा गर्नेछन्।

- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन