News फराकिलो जितका साथ पुलिस क्वाटरफाइनलमा
गोलनेपाल

भद्रपुर । ओम साइ पाथीभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप फुटबल प्रतियोगिताको आज भएको खेलमा नेपाल पुलिस क्लबले घरेलु टोलि चन्द्रगढी युवा समाजलाइ ६:० गोल अन्तरले हराउदै पुलिस क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मेचि रंगशालामा आज भएको खेलमा खेल सुरु भएको खेलको पहिलो मिनेटमै रेखाले गोल गरिन् । डिबक्समा रहेकी रेखाले अर्की स्ट्राइकर मिनाको हेडरलाई सदुपयोग गर्दै गोल गर्न सफल भइन् ।

पुलिसको लागि दोस्रो गोल मिनाको नाममा रह्यो । रेखाले गरेको पावरफुल प्रहार चन्द्रगढीकी गोलकिपर सवनम राईले नियन्त्रणमा लिन नसकेपछि मिनाले त्यसलाई सुन्दर गोलमा परिणत गरिन् ।

खेलको २९ औँ मिनेटमा सम्झना लावतीको पासमा मिनाले व्यक्तिगत दोस्रो गोल गर्न सफल भइन् । ३८ औँ मिनेटमा रेखाले मैदानको मध्यभागबाट सिंगल खेल्दै गोल गरिन् ।

पहिलो हाफको ४० मिनेट ४–० को स्कोर बनाएको पुलिसले बाँकी २ गोल दोस्रो हाफमा गर्यो।‌ ७२ औँ मिनेटमा सब्सिच्युट खेलाडी अनुष्का शेर्पाले पुलिसका लागि अर्काे गोल थपिन् ।

रेखाको पासमा अनुष्कालेबार च्यापेर गरेको प्रहार गोल भयो । खेलको ७७ औँ मिनेटमा रेखाले ह्याट्रिक पूरा गरिन् । मिनाको पासमा हेडमार्फत गोल गर्दै रेखाले जारी प्रतियोगिताको पहिलो ह्याट्रिक गर्ने खेलाडीको सूचीमा नाम दर्ता गराइन् ।

खेलमा पुलिसकी रेखा पौडेल प्लेयर अफ द म्याच बनिन् । प्रतियोगिता अन्तर्गत बैशाख ८ गते मंगलबारको खेल एपीएफ क्लब र पदमा स्पोर्ट्स क्लब बिच हुने आयोजकले जानकारी दियो ।

Post Comments