तिलोत्तमा, रुपन्देही। रुपन्देहीको तिलोत्तमा-कुञ्जलापुरमा सम्पन्न प्रतिष्ठित ३८ औं झरना रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधि चरङ्गे युवा क्लबले जितेको छ।
आज भएको निकै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल भिडन्तमा गोर्खा ब्वाइज बुटवललाई ३–१ गोल अन्तरले पराजित गर्दै चरङ्गेले च्याम्पियन ट्रफीसहित उपाधि आफ्नो पोल्टामा पारेको हो।
खेलको सुरुवातदेखि नै आक्रामक रणनीति अपनाएको चरङ्गे युवा क्लबका लागि निराजन धामी नायक बने। उनले व्यक्तिगत दुई उत्कृष्ट गोल गर्दै टिमलाई बलियो स्थितिमा पुर्याए। चरङ्गेकै लागि थप एक गोल सुदिप श्रेष्ठले गरे।
उता, पराजित गोर्खा ब्वाइजका लागि विदेशी खेलाडी शिलाले एक सान्त्वना गोल फर्काए पनि टिमलाई जित दिलाउन त्यो पर्याप्त हुन सकेन।
उपाधिसँगै विजेता चरङ्गे युवा क्लबले नगद रु. ४ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेतामा चित्त बुझाएको गोर्खा ब्वाइज बुटवलले नगद रु. २ लाख सहित ट्रफी हात पारेको छ।
विधागत उत्कृष्ट खेलाडीहरू
प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो। जसमा चरङ्गेका अविनाश स्याङ्तान 'सर्वश्रेष्ठ खेलाडी' घोषित भए:
प्लेयर अफ द टुर्नामेन्ट (सर्वश्रेष्ठ खेलाडी): अविनाश स्याङ्तान (चरङ्गे युवा क्लब)
बेस्ट गोलकिपर: भिम पुन (चरङ्गे युवा क्लब)
बेस्ट मिडफिल्डर: कृष्णाआले (चरङ्गे युवा क्लब)
बेस्ट डिफेन्स: शिला - विदेशी खेलाडी (गोर्खा ब्वाइज)
बेस्ट स्ट्राइकर: विक्की चाम्लिङ राई (गोर्खा ब्वाइज)
इमर्जिङ प्लेयर (उदीयमान खेलाडी): दिप्सन सापकोटा (झरना स्पोर्ट्स क्लब)