News रश्मी घिसिङको दुई गोलसँगै नवलपरासी–११ को विजयी शुरुवात
सुरज राना मगर

बर्दघाट । प्रथम उपमेयर कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तरगत घरेलु टोली नवलपरासी–११ ले सहज जित हात पार्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

बर्दघाट–४ स्थित क्याम्पा चौर खेलमैदानमा भएको उद्घाटन खेलमा नवलपरासीले माउण्टेन गल्र्स एफसीलाई ३–० ले हराउँदै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

नवलपरासीको जितमा खेलको दोस्रो हाफतर्फ पाँचौं मिनटमा निकिता थोकरले पहिलो गोल गरेकी थिईन् । त्यसको चार मिनट लगतै रश्मी घिसिङले त्यो अग्रता दोब्बर पारिन् । दोस्रो हाफतर्फ कै २६औं मिनटमा रश्मीले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरिन् ।

यो जितसँगै नवलपरासी–११ प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत चैत्र ११ गते बुधबारको दोस्रो क्वाटरफाइनल खेल अभिषेक चर्च, रजहर र लेखनाथ युनाइटेड, कास्कीबीच हुने खेल संयोजक भरत गुरुङले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बश्यालले गरेका थिए । सो अवसरमा लुम्बिनी प्रदेश फुटबल संघका उपाध्यक्ष भिमकाजी गुरुङ लगायत अन्य अतिथीहरुको पनि उपस्थिति रहेको थियो ।

बर्दघाट नगर खेलकुद विकास समितिको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५०० हात पार्नेछ भने उपविजेताले ६५००० हजार प्राप्त गर्ने संयोजक गुरुङले बताए । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने चैत्र १७ गतेका दिन हुनेछ ।

Post Comments