News रेड स्टार झापा सेमिफाइनलमा
रमेश समदर्शी

 रानीटार (पाँचथर) । साविक विजेता रेड स्टार एफसी झापा फिदिम ७ रानीटारस्थित बराजु खेल मैदानमा जारी तेस्रो फिदिम नगर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा पाँचथर क्लब फिदिममाथि ३–० को सहज जित निकाल्दै रेड स्टारले सेमिफाइनल यात्रा तय गरेको हो ।

झापाको स्कोर ३ रहँदा पाँचथर शून्यमै घर फर्किएको छ । रेड स्टारका लागि खेलको २३औँ मिनेटमा पेमा तामाङले गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाएका थिए । यस्तै, दोस्रो हाफको छैठौं मिनेटमा गणेश हेमरमले गोल गर्दै अग्रता दोब्बर बनाए भने मिलन राईले दोस्रो हाफको १२औँ मिनेटमा गोल गर्दै टोलीको जित पक्का गरे ।

खेलमा झापाका गणेश हेमरम म्यान अफ दी म्याच घोषित भए । दोस्रो खेल चर्च ब्वाइज युनाइटे काठमाडौँले सिक्किमको पाण्डा स्पोर्टिङ क्लबसँग  खेल्नेछ । स्वतन्त्र क्लब रानीटारले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल पुस ३ गते हुनेछ । फाइनल खेलको विजेताले नगद १ लाख ५० हजार र उपविजेता ८० हजारसहित ट्रफी पाउनेछ ।

Post Comments