News ओसन क्लबको आयोजनामा चौथो फुटबल मेला हुँदै
गोलनेपाल

दलभञ्ज्याङ । मोफसलमा रहेर फुटबल गतिविधीहरुलाई निरन्तर अगाडी बढाईरहेको द ओसन क्लब, गोरखाले यहि पौष १७ गतेदेखि चौथो फुटबल मेला आयोजना गर्ने भएको छ । त्यसका लागि आवश्यक तयारी पनि अन्तिम चरणमा पुगेको आयोजक क्लबका अध्यक्ष खमित खत्रीले बताए ।

अध्यक्ष खत्रीका अनुसार फुटबल मेलामा यु–१३ र भेट्रानतर्फ फुटबल प्रतियोगिताको आयोजना गरिने पनि उनले बताए । गोरखा–९ दलभञ्ज्याङ स्थित स्व. इमाब ब.स्मृति प्रशिक्षण मैदानमा हुने फुटबल मेलाको यु–१३ तर्फका स्पर्धाहरु दुई चरणमा हुने अध्यक्ष खत्रीले बताए ।

पहिलो चरणमा गोरखा नगरपालिका भित्रका टोलीहरुको सहभागिता रहने र दोस्रो चरणमा जिल्लाबाहिरका टोलीहरु समावेश गरि राष्ट्रियस्तर मै स्पर्धा हुने उनले बताए । साथै पहिलो चरणका खेलहरु प्रत्येक शनिबार हुने भएकाले प्रतियोगिता अवधि पनि लम्बिने अध्यक्ष खत्रीले बताए ।

त्यस्तै दोस्रो चरणका खेलहरु भने आगामी चैत्र महिनामा स्थानीय र देशभरिका उत्कृष्ट १२ टोलीहरुबीच हुने आयोजकले जनाएको छ । गोरखा जिल्लामा ग्रासरुट लेभलबाटै राष्ट्रियस्तरमा समेत राम्रो फुटबलको माहौल बनाउने उद्देश्यका साथ फुटबल मेला आयोजना गर्दै आइरहेको आयोजक क्लबका अध्यक्ष खत्रीले बताए ।

उनले यु–१३ प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरुलाई छनौट गरि निःशुल्क प्रशिक्षणको राम्रो व्यवस्था मिलाउने समेत बताए । साथै प्रतियोगिताको विजेता र उपविजेता टोलीलाई ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments