News चौथो फुटबल मेला र ओसन कप यु–१३ प्रतियोगिता शुरु
गोलनेपाल

दलभञ्ज्याङ । द ओसन क्लबको आयोजनामा शनिबारदेखि चौथों फुटवल मेला अन्तरगत गोरखामा सातौं ओसन कप यू–१३ फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन समुह चरणको शुरुवाती चार खेलहरु सम्पन्न भए । समुह ए बाट महालक्ष्मी मावि लक्ष्मीबजार र जनज्योती आधारभुत विद्यालय ताप्लेबिच भएको खेलमा महालक्ष्मीले ११–० को जित निकाल्यो ।

त्यस्तै समुह बि अन्तरगत द ओल्ड क्यापिटल मावि, रानीवन र बालमन्दिर मावि छहरेबिच भएको खेलमा ओल्ड क्यापिटल ५–१ ले विजयी बन्यो । त्यसैगरी समुह सी तर्फ मोर्डन इङलिस बोर्डिङ स्कुल हरमटारीले महेन्द्र मावि कुन्दुरलाई ३–१ ले हरायो । त्यस्तै समुह डी तर्फ लक्ष्मी सामुदायिक शिक्षा सदनले रत्नलक्ष्मी मावि, डुम्रीडाँडालाई ३–२ ले हरायो ।

पहिलो राउण्डका बाँकी खेल आगामी शुक्रबार र समुह चारणको दोस्रो राउण्डका खेलहरु आउँदो शनिवार हुने आयोजक क्लबका अध्यक्ष अमित खत्रीले जानकारी दिए ।

प्रतियोगितामा गोरखा नगरपालिका भित्रका १५ विद्यालयका यु–१३ टोलीहरु सहभागि छन् । प्रतियोगितामा विद्यार्थीको सहभागिता रहने भएकाले उनीहरुको अध्ययनमा असर नपुग्ने गरी बिदाको दिनमा मात्र प्रतियोगिताका खेलहरु खेलाईएको अध्यक्ष खत्रीले बताए ।

प्रतियोगितामा सहभागी विद्यालयलाई गोरखा नगरपालिकाको तर्फबाट यातायात तथा खाजा खर्चको ब्यबस्थापन गरिने भएको छ । पहिलो चरणमा विजेता र उपविजेता बन्ने टिमले आकर्षक पुरस्कार प्राप्त गर्ने पनि आयोजक क्लबका अध्यक्ष खत्रीले जानकारी दिए ।

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली चैत्र महिनामा हुने दोस्रो चरणका लागि छनौट हुनेछन् । सो प्रतियोगितामा आयोजक क्लब सहित काठमाण्डौं, तनहुँ, स्याङजा, कास्की, चितवन, पालुङटार लगायतका ठाउँबाट १२ टिमको सहभागिता रहनेछ ।

 

Post Comments