News राजर्षि जनक कप शुरु, शेर्पाको विजयी शुरुवात
गोलनेपाल

सर्लाही । बाग्मती नगरपालिकामा आजदेखि सुरु छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आइस हिमालयन शेर्पा क्लबले विजयी सुरुवात गरेको छ । 

प्रतिद्वन्दी झापा दमकको ध्रुवतारा स्पोर्टिङ क्लबलाई १-० गोलले पराजित गर्दै हिमालयन शेर्पा क्वाटरफाइनलमा प्रवेश गरेको छ । हिमालयन शेर्पाका लागि सुरेश कुमालले गरेको एकमात्र गोल निर्णायक बनेको थियो । 

पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । झापाले धेरै राम्रो मुभ बनाए पनि गोल गर्न भने सकेन । झापाले सिर्जना गरेका गोलको थुप्रै प्रहारलाई हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरीले बचाउ गरेका थिए । 

तर, दोस्रो हाफमा कमै प्रहार गर्ने मौका पाएको हिमालयन शेर्पाका सुरेश कुमालले उत्कृष्ट गोल गर्दै टिमलाई क्वाटरफाइनलमा प्रवेश गराउन सफल भए । 

दोस्रो हाफको २७औँ मिनेटमा प्रिस्तोने मुतम्बाको प्रहारमा भएको रिबाउन्ड बललाई सुरेश कुमालले गोलपोस्टको दिशा दिएका हुन् । झापाका गोलरक्षक प्रिन्स श्रेष्ठलले प्रिस्तोने मुतम्बाको प्रहार जोगाए पनि सुरेशले खाली पोस्टमा गोल गर्न सफल भए । 

उद्घाटन खेलको म्यान अफ दी म्याच हिमालयन शेर्पाका गोलकर्ता सुरेश कुमाल घोषितहुँदै नगद १० हजार पाउन सफल भए । भोलिको खेल नेपाल पुलिस क्लब र जनजागृति युवा क्लब सिमराबीच हुनेछ ।

बाग्मती युवा क्लब र बाग्मती नगरपालिका सर्लाहीको संयुक्त आयोजनामा भएको प्रतियोगितामा १२ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १० लाखभन्दा बढी पुरस्कार पाउने छ । उपविजेताले नगद ५ लाखमा चित्त बुझाउनु पर्नेछ ।

Post Comments