News एनआरटी राजर्षि जनक कपको क्वाटरफाइनलमा
रमेश समदर्शी

बागमती । सहज जित निकाल्दै न्युरोडटिम (एनआरटी) यहाँ जारी छैठौं राजर्षि जनक कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको प्रिक्वाटरफाइनलतर्फ एनआरटीले केबिए ग्लोबल भरतपुर एफसीलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्न सफल भएको हो ।

सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा भएको खेलमा पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेले तापनि दोस्रो हाफमा एनआरटीले तीन गोल गर्न सफल भयो । खेलको ६३औं मिनटमा क्रितिश रत्न छुन्जुले पहिलो गोल गरे ।

८७औं मिनटमा बिबेक मगरले आत्मघाती गोल गर्दा एनआरटीले आफ्नो अग्रता २–० को स्थितिमा पुर्यायो । लगतै अन्तिमतिर स्टिफन समिरले एनआरटीका लागि तेस्रो गोल गर्दै टोलीको शानदार जित सुनिश्चित गरे ।

खेलमा एनआरटीका क्रितिश रत्न छुन्जु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत चैत्र ५ गतेको अन्तिम प्रिक्वाटरफाइनल खेल एभनिर एफसी, क्यामरुन र एपिएफ फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

बागमती युवा क्लब र बागमती नगरपालिका, सर्लाहीको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र १३ गतेका दिन हुनेछ ।

 

Post Comments