News एन्थोनीको गोलले अन्तिम चारमा पुग्यो आयोजक बागमती
रमेश समदर्शी

बागमती । आयोजक बागमती युवा क्लब, सर्लाही जारी छैठौं राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा बागमतीले न्युरोडटिम (एनआरटी) माथि १–० को साँघुरो जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

स्व. सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा बागमतीका लागि जमुल एन्थोनीले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलमा बागमतीले पाएको केही राम्रा अवसरहरुलाई सदुपयोग गर्न नसक्दा घरेलु टोली र समर्थकहरु चुकचुकाउनु परेको थियो ।

खेलमा निर्णायक गोलकर्ता एन्थोनी म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत चैत्र ९ गते बुधबारको अन्तिम क्वाटरफाइनल खेल लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र एभनिर एफसी, क्यामरुनबीच हुने आयोजकले जनाएको छ ।

बागमती नगरपालिका र बागमती युवा क्लब, सर्लाहीको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र १३ गतेका दिन हुनेछ ।

Post Comments