News प्रथम ओएसआर डिजिटल ओपन फुटसलको उपाधि प्रभातफेरी युथ क्लबलाई
गोलनेपाल

प्रथम ओएसआर डिजिटल ओपन फुटसलको उपाधि प्रभातफेरी युथ क्लब (पिवाईसी)ले जितेको छ ।

घोडेजात्राको छेकोमा आयोजना भएको फुटसल प्रतियोगितामा शनिबार साँझ ध्रुबतारा फुटबल क्लबलाई पराजित गर्दै प्रभातफेरीले उपाधी आफ्नो पक्षमा पारेको हो ।

फाइनलमा ६-२ को फराकिलो अन्तरमा ध्रुबतारालाई पछि पार्दा पिवाईसीले नगद ५५ हजार ५ सय ५५ सँगै ट्रफी र मेडल हात पार्यो भने रनरअप बनेको ध्रुबताराले ३३ हजार ३ सय ३३ रुपैयाँ, रनरअप ट्रफी र मेडल जित्न सफल भयो । प्रतियोगिताको विजेता र उपविजेतालाई नेपाली फिल्मका स्टाइलिस्ट एक्टर अनुपबिक्रम शाहीले ट्रफी प्रदान गरेका थिए । साथमा इनास बेल्जियम अध्यक्ष तथा कलाकार श्याम श्रेष्ठ, अभिनेत्री कोरियोग्राफर पवित्रा आचार्य, निर्देशक वसन्त निरौलाले अन्य पुरस्कारहरु प्रदान गरे ।

नकआउट फर्म्याटमा सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट गोलकिपर विजेता टिम प्रभातफेरीका आशिष महत भए भने उत्कृष्ट खेलाडी ध्रुबताराका सुभराज महत चुनिए । दुबैले ५ हजार ५ सय ५५ रुपैयाँसँगै ट्रफी हात पारे । फेयरप्ले टिमको पुरस्कार जित्दै ग्याजेट सोलुसनले ९ हजार ९ सय ९९ रुपैयाँ आफ्नो हात पार्न सफल रह्यो ।

हिमालयन फुटबल क्लबको आयोजनामा भाटभटेनी हेल्थ क्लब चुच्चेपाटीमा दुई दिनसम्म चलेको प्रतियोगीतामा विभिन्न ३२ टिमको सहभागिता थियो । हिमालयन एफसीका अध्यक्ष विनोद कार्कीले पहिलोपटक आयोजित प्रतियोगीता भव्य रुपमा सम्पन्न पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा अझै ठुलो धनराशीको प्रतियोगिता गर्ने बताए ।

Post Comments