News सहज जितका साथ हरिवन बन्देवीमाई गोल्डकपको फाइनलमा
गोलनेपाल

बटेश्वर । सहज जित निकाल्दै हरिवन युवा क्लब, सर्लाही यहाँ जारी ११औं बन्देवीमाई गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा हरिवनले बिरगंज युनाइटेड, पर्सालाई ३–२ ले हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो । हरिवनको जितमा खेलको छठौं मिनट मै जुमानु राईले पहिलो गोल गरे । त्यसको दुई मिनट लगतै क्षितिज भण्डारीले त्यो अग्रता दोब्बर पारे ।

२८औं मिनटमा सिर्जन गौतमले बिरगंजका लागि पहिलो गोल फर्काए । त्यस्तै दोस्रो हाफको ७५औं मिनटमा अब्दुलाले हरिवनका लागि तेस्रो गोल गरे । जुन खेलको निर्णायक गोल पनि बन्यो । उता खेलको अन्तिमतिर विवेक चौधरीले बिरगंजका लागि दोस्रो गोल फर्काए तापनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

खेलमा हरिवनका डेनियल म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र ट्रफी हात पारे । अब हरिवनले फाइनलमा कार्तिक १७ गतेका दिन शलहेश युवा क्लबसँग उपाधिका लागि भिड्नेछ ।

बन्देवीमाई युवा क्लब, बटेश्वर गाउँपालिका–२, सीतापुर, धनुषाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।

 

 

Post Comments