News आयोजक भैरव स्पोर्टस फाइनलमा
सुरज राना मगर

बर्दघाट । उत्कृष्ट जितका साथ आयोजक भैरव स्पोर्टस क्लब यहाँ जारी प्रथम भैरव कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा भैरवले फर्साटिकर युवा क्लब, रुपन्देहीलाई ३–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।

बर्दघाट–१४ गोपीगंज स्थित स्थानीय खेलमैदानमा भएको पहिलो सेमिफाइनल भिडन्तमा भैरवका लागि कप्तान सबी गुरुङ, सुमित श्रेष्ठ तथा महेश आलेले एक–एक गोल गरे । खेलमा भैरवका सुमित श्रेष्ठ म्यान अफ द म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तरगत मंसिर २९ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल अल स्टार क्लब, तनहुँ र विपी स्मृति क्लब, नवलपरासी बीच हुने आयोजक क्लबका अध्यक्ष अन्जन अधिकारीले जानकारी दिए ।

भैरव स्पोर्टस क्लबको आयोजना तथा बुद्धबस्ती पिपल्स क्लब, बर्दघाट–१४ नवलपरासीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ६५ हजार प्राप्त गर्नेछ । सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि जनही १५–१५ हजार प्रदान गरिने अध्यक्ष अधिकारीले बताए । फाइनल खेल पुष २ गतेका दिन हुनेछ ।

Post Comments