News प्रशिक्षक तालिमका लागि पटिहानी एफसी र गण्डकी विश्वविद्यालयबीच सम्झौता
गोलनेपाल

भरतपुर । मोफसलको फुटबलमा सक्रिय रहेको पटिहानी फुटबल क्लब, चितवनले गण्डकी विश्वविद्यालयसँग सहकार्य गरी प्रशिक्षक तालिम सञ्चालन गर्न सम्झौता गरेको छ । क्लबले खेल व्यवस्थापन (ब्याचलर इन स्पोर्टस) का लागि विश्वविद्यालयसँग खेल प्रशिक्षक तालिमको लागि सम्झौता गरेको हो ।

सम्झौतापत्रमा पटिहानी एफसीका तर्फबाट अध्यक्ष पोष्टराज तिमिल्सिना र विश्वविद्यालयका तर्फबाट खेल व्यवस्थापन (ब्याचलर इन स्पोर्टस) कार्यक्रमका एकेडेमी संयोजक डा. मधुसुदन सुबेदीले एक कार्यक्रमका बीच हस्ताक्षर गरी सम्झौतापत्र आदानप्रदान गरेका थिए ।

सम्झौताअनुसार जिल्लाभित्रका खेलकुद शिक्षक, क्लब सदस्यहरुलाई आउँदो माघ १८ देखि २१ गतेसम्म तीन दिने प्रशिक्षक तालिम दिईनेछ । तालिममा करिब ३० जनासम्मको सहभागिता रहने क्लबले अनुमान गरेको छ । प्रशिक्षक तालिमले खेलकुद क्षेत्रलाई विद्यालय र कलेजस्तरबाटै थप बलियो बनाउन टेवा पुग्ने विश्वास लिइएको छ ।

स्मरण रहोस, गण्डकी विश्वविद्यालयले स्नातक तहको स्पोर्टस म्यानेजेमण्टको नेपालमा पहिलोपटक अध्ययन र अध्यापन शुरु गरेको हो । कुनै पनि विषयमा १२ कक्षा उत्तीर्ण गरेका र सिटीइभिटीबाट डिप्लोमा कोर्ष उत्तीर्ण गरेकाहरुले स्पोर्टस म्यानेजमेण्ट अध्ययन गर्न सक्नेछन् ।

Post Comments