News आयोजक वालिङ (निलो) बन्यो च्याम्पियन
गोलनेपाल

वालिङ । शनिबार सम्पन्न प्रथम वालिङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि आयोजक वालिङ युनाइटेड (निलो) ले हात पारेको छ । फाइनलमा एभनिर फुटबल क्लब, क्यामरुनलाई टाईब्रेकरमा ४–३ ले हराउँदै वालिङ च्याम्पियन बनेको हो ।

वालिङका गोलरक्षक राजाबाबु थापा म्यान अफ द म्याच चुनिए । उनले त्यसवापत नगद ४ हजार र गिफ्ट ह्याम्पर हात पारे । विजेता बनेको वालिङले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेता एभनिरले २ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

वालिङका विश्वास श्रेष्ठ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे । उत्कृष्ट गोलरक्षक पनि वालिङ कै राजाबाबु थापा बने । उत्कृष्ट डिफेन्डर, मिडफिल्डर र फरवार्ड पनि वालिङ कै क्रमशः आशिष गुरुङ, कमल थापा र टिकाराज गुरुङ घोषित भए ।

उत्कृष्ट प्रशिक्षक पनि वालिङ कै सुनिल थापा घोषित भए । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार भने एभनिरका टिम्बा टोम्बेले हात पारे । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ७–७ हजार र ट्रफी प्राप्त गरे ।

वालिङ युनाइटेड फुटबल क्लब, वालिङ, स्याङ्जाको आयोजनामा गत पौष ३० गतेदेखि शुरु प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएको प्रतियोगिता संयोजक केशर थापाले बताए ।

Post Comments