News वार्ड नम्बर ११ र ३ दुधौली मेयर कपको सेमिफाइनलमा
गोलनेपाल

दुधौली । सहज जितका साथ वार्ड नम्बर ११ र वार्ड नम्बर ३ यहाँ जारी दुधौली मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बहुमुखी क्याम्पस खेलमैदानमा भएको पहिलो क्वाटरफाइनलमा वार्ड नम्बर ११ ले वार्ड नम्बर १ लाई शून्यका विरुद्ध ६ गोलको फराकिलो अन्तरले हरायो । वार्ड नम्बर ११ का लागि अन्जित माझीले दुई गोल गरे ।

त्यस्तै ओम कुवर मगर, अन्जय अधिकारी, दिनेश कुँवर र विजय अधिकारीले एक–एक गोल गरे । खेलमा वार्ड नम्बर ११ का रोशन अधिकारी म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो क्वाटरफाइनलमा वार्ड नम्बर ३ ले वार्ड नम्बर ७ लाई २–० ले हरायो । वार्ड नम्बर ३ को जितमा सुमित अधिकारी र मिलन कुमार धामीले एक–एक गोल गरे । खेलमा वार्ड नम्बर ३ का सञ्जय मगर म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत माघ २० गते शुक्रबारको अन्तिम दुई क्वाटरफाइनल अन्तरगत वार्ड नम्बर ४ ले १२ को सामना गर्नेछ भने अर्को खेलमा वार्ड नम्बर ८ र १४ भिड्ने छन् ।

दुधौली नगरपालिका, सिन्धुलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्ने आयोजकले जानकारी दियो । प्रतियोगिताको फाइनल खेल यही माघ २३ गतेका दिन हुनेछ ।

Post Comments