News झापा: बगान युथ कचनकवललाई फुटबलको उपाधि
रमेश समदर्शी

झापाको बिर्तामोडमा आयोजित दोस्रो जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि कचनकवलको बगान युथ क्लबले रक्षा गरेको छ । आज (शनिबार) भएको फाइनल खेलमा स्पर्धी अर्जुनधाराको युथ अफ खुदुनाबारीलाई २-० गोलले पराजित गर्दै बगानले उपाधि रक्षा गरेको हो ।

पहिलो हाफमा १ गोलले अग्रता लिएको बगानले दोस्रो हाफमा एक गोल थपेको हो । पहिलो हाफमा बगानका मनिष लिम्बूले लो क्रसमार्फत सहजै जाली चुमाएका हुन् । खुदुनाबारीका गोलरक्षक सञ्जय गुरुङले मनिषको प्रहारलाई मार्क नगर्दा दोस्रो बारहुँदै बलले जाली चुमेको थियो । यस्तै, दोस्रो हाफमा पाएको फ्रिकिकमा विशाल दर्जीले सिधै जाली चुमाउँदा २-० गोलको अग्रता बनाएको थियो । बगानका विशाल दर्जी खेलको म्यान अफ दी म्याच बने । उनले नगद २ हजारसहित ट्रफी प्राप्त गरे । यस्तै, आयोजकको गोलरक्षक युवराज पुरी राइजिङ प्लेयर घोषित भए भने बेस्ट गोलकिपर बगानका सन्दिप लिम्बू घोषित भएर नगद ५ हजार पाउन सफल भए । यसैगरी, सर्वाधिक गोलकर्ता खुदुनाबारीका राजेश दाहाल भए । उनले प्रतियोगिताको पहिलो ह्याट्रिकसहित ४ गोल गरेका थिए । उनले पनि नगद ५ हजार र ट्रफी पाए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी भने युथ अफ खुदुनाबारीका कप्तान शेरुहाङ नेम्बाङ बने । उनले पनि नगद ५ हजार र ट्रफी पाए । विजेता तथा उपविजेतालाई प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर, आयोजक क्लबका अध्यक्ष हिमाल कन्दङ्वा, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामालगायतले पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए ।

बुट्टाबारी युनाइटेड क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ र उपविजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी पाएका छन् ।

Post Comments