News चर्च ब्वाईजबाट अलग भए प्रशिक्षक हुमागाई
गोलनेपाल

काठमाडौं । चर्च ब्वाईज युनाइटेड क्लबका मुख्य प्रशिक्षक नेपाली मूलका अमेरिकी नागरिक प्रदिप हुमागाईले चर्च ब्वाईजसँग आफ्नो जिम्मेवारीबाट अलग भएको कुरा सामाजिक सञ्जालमार्फत घोषणा गरेका छन् । अमेरिकी नागरिक भएकै कारण श्रम स्वीकृति (वर्क परमिट) प्राप्त नभएकाले आफू क्लबबाट अलग भएको कुरा उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।

“खेलकुद शारिरिक, मानशिक क्षमताको प्रदर्शन मात्र हैन, अनुशासन, निति र नियमको पालना पनि हो । नेपाली फुटवल खेलप्रतिको अगाध माया र यसको सुदृढिकरणप्रति केही गर्न सकिन्छ कि भन्ने हेतुले केहि समयदेखि जन्मभूमि मै रहेर फुटबल प्रशिक्षण गरिरहेको थिए, तर नेपालको प्रचलित कानुन, फिफा, एन्फा र एएफसीको नियमानुसार मैले (अमेरिकी नागरिकता भएका कारण) नेपालमा प्रशिक्षण गर्न श्रम स्विकृति (वर्क परमिट) लिनु पर्ने र सो प्राप्त गर्न नसकेका कारण हिजो अप्रिल ४ देखि मैले अफिसियल कोचका रूपमा प्रशिक्षण गरिरहेको चर्च व्वाईज क्लव छोडेको जानकारी गराउन चाहन्छु ।” प्रशिक्षक हुमागाईंले लेखेका छन् ।

स्मरण रहोस, हुमागाईंले यसै सिजनका लागि चर्च ब्वाईजको जिम्मेवारी सम्हालेका थिए । ए डिभिजन लिगमा छैठौं चरणसम्मका खेलहरुमा पनि उनले बिना अवरोध चर्च ब्वाईज कै प्रशिक्षकका रुपमा निर्वाह गरेका थिए । तर मंगलबार (चैत २१) देखि उनी कलबको कुनै जिम्मेवारीमा नरहेको बताएका छन् ।

क्लबलाई सिजनको पहिलो उपाधि जिताउने क्रममा हुमागाईले भर्खरै बारामा सम्पनन १३औं जितपुर सिमरा गोल्डकपको उपाधि चर्च ब्वाईजलाई जिताएका थिए । त्यतिबेला उनी प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक पनि चुनिएका थिए ।

Post Comments