News चर्च ब्वाईजलाई उचाईंमा पुर्याउन महर्जनलाई चुनौति
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा यसै सिजन बढवा भएको चर्च ब्वाईज युनाइटेड क्लबले आफ्नो नयाँ मुख्य प्रशिक्षकमा बालगोपाल महर्जनलाई नियुक्त गरेको छ । नेपाली फुटबलमा खेलाडीदेखि लिएर प्रशिक्षकसम्म राम्रो पहिचान बनाएर सफलता पनि हात पारेका महर्जन शान्त तर प्राविधिक रुपमा पोख्त प्रशिक्षक मानिन्छन् ।

महर्जनको नियुक्तिबारे चर्च ब्वाईजले पनि आधिकारिक रुपमा जानकारी गराइसकेको छ । नेपाली मूलका अमेरिकी प्रशिक्षक प्रदिप हुमागाईंले श्रम स्विकृति नपाएको भन्दै आफ्नो जिम्मेवारीबाट राजिनामा दिएपछि चर्च ब्वाईज नयाँ प्रशिक्षकको खोजीमा थियो । जसमा क्लबले हुमागाईंको सही विकल्पका रुपमा महर्जनलाई नै रोज्यो ।

घरेलु फुटबलमा थ्रीस्टार, मनाङ जस्ता क्लबहरुको जिम्मेवारी सम्हालिसकेका महर्जनले नेपालको विभिन्न उमेर समूह र सिनियर टोली कै जिम्मेवारी सम्हालेर देशका लागि सागमा स्वर्ण पदकदेखि बंगबन्धु गोल्डकप, थ्री नेशन्स कपको उपाधि पनि जितिसकेका छन् ।

लिगमा हाल ७ खेलबाट ३ जित र ४ बराबरीका साथ १३ अंक जोड्दै अपराजित रहेको चर्च ब्वाईज लिगतालिकाको चौथो स्थानमा छ । र नयाँ प्रशिक्षक महर्जनलाई क्लबको यो स्थान अझैं सुधार गर्दै टोलीलाई नयाँ उचाईंमा पुर्याउने चुनौति पनि हुनेछ । जुन बालगोपालको पहिलो र निर्णायक होमवर्क बन्ने पनि निश्चित छ ।

स्मरण रहोस, लिगको आठौं चरणको खेलतर्फ चर्च ब्वाईजले बिहीबार फ्रेण्डस क्लबसँग खेल्दैछ । जुन बालगोपालको क्लबका लागि पहिलो च्यालेञ्ज पनि हुनेछ ।

Post Comments