News भारतीय महिला फुटबल खेलाडीहरुले आकर्षक पारिश्रमिक पाउने
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फुटबलमा लोभलाग्दो फड्को मारिरहेको भारतले आफ्ना महिला फुटबल खेलाडीहरुको क्षमता र स्तर बृद्धि गर्न नयाँ कार्यक्रम र योजना अघि सारेको छ । जसअन्तरगत भारतको शिर्ष महिला लिगमा खेल्ने खेलाडीहरुले आकर्षक पारिश्रमिक पाउने तय भएको छ ।

शुक्रबार अल इण्डिया फुटबल फेडरेशन (एआईएफएफ) को बसेको कार्यसमितिको बैठकले महिला फुटबललाई थप उचाईमा पुर्याउने उद्देश्यका साथ केही आकर्षक र महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । जसअन्तरगत हिरो महिला आई लिगतर्फ नयाँ सिजनदेखि एउटा क्लबले अनिवार्य रुपमा १० महिला खेलाडीहरुलाई अनुवन्ध गर्नुपर्नेछ । त्यस्तै खेलाडीहरुको वार्षिक पारिश्रमिक पनि कम्तीमा ३ लाख २० हजार भारतीय रुपैयाँ हुनुपर्नेछ ।

महिला फुटबललाई थप बलियो बनाउने उद्देश्यका साथ सन् २०२४–२५ को सिजनदेखि महिला आई लिगमा १० टोलीहरु सहभागि हुनेछन् । त्यस्तै भारतीय महिला लिगमा चार श्रेणीहरु बन्ने छन् । सबैभन्दा तल्लो श्रेणीका रुपमा स्टेट लिग हुनेछ ।

राम्रा र क्षमतावात महिला खेलाडीहरुलाई प्लेटफर्म दिन फिफासँगको सहकार्यमा इण्डियन एफएले प्रोजेक्ट डायमण्ड कार्यक्रम पनि सञ्चालन गर्नेछ । इण्डियन एफएले भिजन २०४७ नामक अर्को कार्यक्रम पनि शुरु गरिसकेको छ । जसमा विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरेर सन् २०२६ सम्म ३ करोड ५० लाख तथा सन् २०४७ सम्म १० करोड बालबालिकाहरुलाई फुटबल विकासको कार्यक्रममा सहभागि गराउने लक्ष्य पनि लिएको छ ।

 

Post Comments