News शिर्ष तीनमा थ्रीस्टार र चर्च ब्वाईज
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ दशौं चरणको आ–आफ्नो खेलहरुमा जित हात पार्दै थ्रीस्टार क्लब र चर्च ब्वाईज युनाइटेड क्लब लिगतालिकाको शिर्ष तीनमा उक्लिएका छन् ।

एन्फा कम्प्लेक्समा सम्पन्न दिनको पहिलो खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लब विरुद्ध १–० को साँघुरो जित निकाल्यो । पहिलो हाफको १४औं मिनटमा सञ्जित राईले गरेको आत्मघाती गोल नै थ्रीस्टारलाई तीन अंक दिलाउन निर्णायक बन्यो ।

खेलमा शेर्पाले बराबरी गोल गर्ने अवसर पनि पाएको थियो । ४८औं मिनटमा शेर्पाले पाएको पेनाल्टीको अवसरलाई विश्वास श्रेष्ठले सदुपयोग गर्न सकेनन् । यो नतिजापछि १० खेलबाट १८ अंक जोडेको थ्रीस्टार लिगतालिकाको तेस्रो स्थानमा पुगेको छ । पराजित शेर्पा भने ९ अंकका साथ रेलिगेशन क्षेत्रको १३औं स्थानमा झरेको छ ।

त्यसैगरी बिहीबार नै भएको दोस्रो खेलमा चर्च ब्वाईजले सातदोबाटो युथ क्लबमाथि २–१ को जित हात पार्यो । दशरथ रंगशालामा भएको खेलको सातौं मिनट मै आशिष चौधरीको गोलबाट चर्च ब्वाईजले खेलमा अग्रता लिएको थियो ।

यद्यपि ३४औं मिनटमा निरज चौधरीले सातदोबाटोका लागि बराबरी गोल फर्काएका थिए । तर ४६औं मिनटमा मिलन राईले चर्च ब्वाईजका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाएका थिए ।

यो जितपछि १० खेलबाट १८ अंक जोडेको चर्च ब्वाईज दोस्रो स्थानमा पुगेको छ । तेस्रो स्थानको टोली थ्रीस्टारको पनि समान १८ अंक भए तापनि गोलभिन्नताले पछि परेको छ । उता चर्च ब्वाईजसँग पराजित सातदोबाटो १७ अंकका साथ चौथो स्थानमा झरेको छ । शिर्ष स्थानमा भने २० अंकका साथ जावलाखेल युथ क्लब रहेको छ ।

Post Comments