News राष्ट्रिय खेलाडी कमल पनि अष्ट्रेलिया प्रस्थान
गोलनेपाल

काठमाडौं । नेपाली फुटबलमा देखिएको अन्यौलता कै कारण एक पछि अर्को राष्ट्रिय खेलाडीहरुले विदेश पलायनको बाटो रोजिरहेका बेला त्यही सूचीमा अर्का अन्तर्राष्ट्रिय खेलाडी कमल थापा मगर पनि थपिएका छन् ।

जारी शहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबका लागि १९ म्याच खेलिसकेका युवा मिडफिल्डर थापा सुनिश्चित भविष्य कै लागि मंगलबार अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनले पनि अष्ट्रेलिया एमेच्योर क्लबबाट फुटबल खेल्ने सम्भावना छ । तर, यसबारे विस्तृत रुपमा केही खुलाइएको छैन ।

गत मार्चमा नेपाल मै सम्पन्न प्रधानमन्त्री थ्री नेशन्स कप उपाधि जितेका थापा नेपाली टोलीका लागि उदाउँदा मिडफिल्डरका रुपमा परिचित थिए । उनको विदेश पलायनले पनि नेपाली फुटबललाई अर्को झट्का लागेको छ ।

त्यसो त पछिल्लो समय विदेश पलायन हुने खेलाडीहरुको सूची लामो भईसकेको छ । त्यसमा पनि राष्ट्रिय फुटबल खेलाडीहरुले अष्ट्रेलियालाई नै मुखय गन्तव्य बनाएका छन् । अष्ट्रेलिया पुग्ने अन्तर्राष्ट्रिय खेलाडीहरुमा सुजल श्रेष्ठ, बिशाल राई, रन्जित धिमाल, अभिषेक रिजाल, सुमन लामा, तेज तामाङ, सुनिल बल, राजन गुरुङ, शिव गुरुङ, दिनेश राजवंशी लगायत थुप्रै खेलाडीहरु छन् । र यो सूची अझै लम्बिने सम्भावना पनि छ ।

तर फुटबलको नेतृत्व हाँकीरहेका सम्बन्धित निकायहरुले यसबारे समाधानको पहल खोज्नुको साटो मौन र निष्क्रिय प्रायः छन् ।

Post Comments