News तुर्केनी एफसी स्व प्रविण ग्वाल स्मृति फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरियो
रमेश समदर्शी

सुरुवाती अग्रता जोगाउन नसक्दा काँकरभिट्टाको तुर्केनी एफसी मेचीनगर १० स्थित धुलाबारीमा जारी स्व प्रविण ग्वाल स्मृति फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ ।

मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा बुधबारेको आदर्श युवा क्लबसँग ३-२ गोलअन्तरमा तुर्केनी एफसी पराजित भएको हो । यो खेलसँगै सेमी समिकरण पनि पूरा भएको छ । तुर्केनी एफसीका लागि मिलन गुरुङले खेलको २५औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ५ मिनेटमा आदर्श युवा क्लबका लागि दिपेन धिमालले गोल गर्दै बराबरी बनाए । फेरि तुर्केनी एफसीका मिलनले नै दोस्रो हाफको ११औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाएका थिए । तर, २-१ गोलले पछि परेको अवस्थालाई उल्टाउँदै बुधबारेले सेमिफाइनलमा स्थान सुरक्षित गर्यो  ।

बुधबारेका लागि विशाल दर्जीले दोस्रो हाफकोे १७औँ र बबिन बोहोराले २७औँ मिनेटमा गोल गरेका हुन् । खेलको म्यान अफ दी म्याच बुधबारेका विशाल दर्जी बने । उनले नगद १ हजार पुरस्कारवापत पाए । भोलि आयोजक लायन एफसी र चारपाने एफसीबीच पहिलो सेमिफाइनल खेल हुनेछ । स्थानीय इष्ट होराइजन स्कुलको कक्षा ९ मा अध्ययनरत विद्यार्थी तथा खेलाडी स्व ग्वालको स्मृतिमा प्रतियोगितामा ८ टिम सहभागी छन् ।

प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसँगै ट्रफी पाउने छ । यस्तै, प्रतियोगिताको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्ड, स्ट्राइकर र उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष डिके धिमालले जनाएका छन् ।

Post Comments