News थ्रीस्टार जोगियो, रेलिगेशनमा एपिएफ, मच्छिन्द्रको सुखद समापन
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको अन्तिम दिन निर्णायक मानिएको खेलमा थ्रीस्टार क्लबले साँघुरो अन्तरको जित निकाल्दै रेलिगेशनबाट जोगिन सफल भएको छ ।

दशरथ रंगशालामा भएको अन्तिम खेलमा थ्रीस्टारले जावलाखेल युथ क्लबमाथि १–० को जित निकाल्यो र रेलिगेशनबाट जोगिन सफल भयो । खेलको अन्तिमतिर ८२औं मिनटमा कप्तान बिक्रम लामाले गरेको पेनाल्टी गोल थ्रीस्टारलाई महत्वपूर्ण जित दिलाउन निर्णायक बन्यो ।

यो नतिजापछि २६ खेलबाट ३२ अंक जोडेको थ्रीस्टार नवौं स्थानमा उक्लिएर रेलिगेशनबाट जोगिन सफल भयो । उता पराजित जावलाखेल भने ३७ अंकका साथ चौथो स्थानमा रहेर लिगको समापन गर्यो ।

यो नतिजाले विभागीय टोली एपिएफ फुटबल क्लबले भने रेलिगेशनमा परेको छ । २६ खेलबाट ३० अंक जोडेको एपिएफ रेलिगेशन क्षेत्रको १३औं स्थानमा रह्यो । फ्रेण्डसको पनि समान ३० अंक भए तापनि राम्रो गोलभिन्नताका आधारमा १२औं स्थानमा रहेर फ्रेण्डसले लिगको समापन गर्न सफल भयो ।

यस सिजन एपिएफसँगै एफसी खुमलटार पनि रेलिगेशनमा परिसकेको छ । २६ खेलबाट मात्र २७ अंक जोडेको खुमलटार पुछारमा रहेर रेलिगेशनमा पर्न बाध्य भएको हो ।

मच्छिन्द्रको सुखद समापन, संकटा र एनआरटीको बराबरी

लिगतर्फ दोस्रो स्थान यसअघि नै सुरक्षित गरिसकेको मच्छिन्द्र फुटबल क्लबले अन्तिम खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई ३–१ ले हरायो र सिजनको सुखद समापन गर्यो ।

दशरथ रंगशालामा भएको खेलको १५औं मिनटमा बिजय श्रेष्ठको गोलबाट मनाङले खेलमा अग्रता बनाए पनि मच्छिन्द्रले उत्कृष्ट पूनःरागमन गरेको थियो । ८०औं मिनटमा ओलावाले आफिजले मच्छिन्द्रका लागि बराबरी गोल फर्काउँदा ८६औं मिनटमा बिमल घर्ती मगरले दोस्रो गोल थपेका थिए । त्यस्तै इन्जुरी समयमा ओलावालेले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै मच्छिन्द्रको जित पक्का गरेका थिए ।

यो नतिजापछि २६ खेलबाट ४५ अंक जोडेको मच्छिन्द्र दोस्रो स्थानमा रह्यो । पराजित मनाङ भने ३२ अंकका साथ आठौं स्थानमा रहेर लिगको समापन गर्न बाध्य बन्यो ।

त्यसैगरी च्यासल स्टेडियममा भएको खेलमा यस सिजन मुश्किलले रेलिगेशनबाट जोगिएको संकटा क्लबले एनआरटीसँग १–१ को बराबरी खेल्दै लिगको अन्त्य गर्यो ।

पहिलो हाफ कै इन्जुरी समयमा नेल्सन युनवाको गोलबाट संकटाले खेलमा अग्रता लिएको थियो भने ८९औं मिनटमा बिक्रम धिमालले एनआरटीका लागि बराबरी गोल फर्काएका थिए ।

यो नतिजापछि २६ खेलबाट ३२ अंक जोडेको संकटा लिगतालिकाको दशौं स्थानमा रह्यो । उता एनआरटी भने ३४ अंकका साथ छैठौं स्थानमा रहेर लिग समापन गर्न सफल भयो ।

Post Comments