News अमर आदर्शलाई चिल्ड्रेन लाइफ कपको उपाधि
गोलनेपाल

बागलुङ । दोस्रो चिल्ड्रेन लाईफ कप अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगिताको उपाधि अमर आदर्श माविले जितेको छ । फाइनलमा आयोजक चिल्ड्रेन लाईफ इङलिस बोर्डिङ स्कुल (सेतो) लाई टाइब्रेकरमा ४–३ ले हराउँदै अमर आदर्शले उपाधि उचालेको हो ।

बागलुङ नगरपालिका–१ स्थित बांगेचौर खेलमैदानमा सम्पन्न फाइनल भिडन्तमा निर्धारित समयको खेल दुवै टोलीले प्रतिस्पर्धात्मक रुपमा गोलरहित बराबरी खेलेका थिए । थपिएको २० मिनटको अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो ।

पेनाल्टी शुटआउटमा आयोजक टोलीको दुई प्रहार पोष्ट बाहिरिदा उपाधिविहीन बन्न पुगेको थियो । विजेता बनेको अमर आदर्शले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता आयोजक चिल्ड्रेन लाईफले २० हजारमा चित्त बुझायो । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी आयोजक चिल्ड्रेन लाईफका कप्तान सौगात खड्का घोषित भए ।

चिल्ड्रेन लाईफ इङलिस बोर्डिङ स्कुल र चिल्ड्रेन लाईफ स्पोर्टस क्लबको संयुक्त आयोजनामा गत माघ २८ गतेदेखि शुरु प्रतियोगितामा बागलुङका कुल १४ विद्यालयका १५ टोलीहरुको सहभागिता रहेको खेल संयोजक दिपक थापाले बताए ।

 

Post Comments