News बंगलादेश र अफगानिस्तानको रोमाञ्चक बराबरी
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विन्डो अन्तरगत बंगलादेश र अफगानिस्तानबीच भएको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच पनि रोमाञ्चक बराबरीमा टुंगिएको छ ।

आइतबार सम्पन्न पहिलो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेका दुई टोलीले बिहीबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी खेले । ढाकामा सम्पन्न खेल शुरुवातबाटै प्रतिस्पर्धात्मक रहयो ।

यद्यपि अफगानिस्तानलाई भने पहिलो हाफ मै झट्का लागेको थियो । विपक्षी अफिसियलहरुसँग विवादमा उत्रिएपछि अफगानिस्तानका मुख्य प्रशिक्षक अब्दुला अल्मुताईरीलाई नेपाली फिफा रेफ्री प्रज्ज्वल क्षेत्रीले सोझै रातो कार्ड देखाएका थिए ।

पहिलो हाफदेखि नै मुख्य प्रशिक्षकविहीन बनेको अफगानिस्तानले दोस्रो हाफमा शुरुवाती अग्रता बनाउन सफल भएको थियो । ५३औं मिनटमा जबर शर्जाले अफगानि टोलीका लागि पहिलो गोल फर्काए । तर पाहुना टोलीले त्यो अग्रता कायम राख्न सकेन ।

त्यसको दश मिनट लगतै ६३औं मिनटमा शेख मोर्सालिनले बंगलादेशका लागि गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

बंगलादेश र अफगानिस्तान दुवै अब अर्को महिना हुने फिफा विश्वकप र एएफसी एसियन कपको पहिलो चरणको छनौट खेल खेल्ने तयारीमा जुट्ने छन् ।

छनौट खेल अन्तरगत बंगलादेशले १२ र १७ अक्टुबरका दिन माल्दिभ्ससँग होम एण्ड अवे खेल खेल्नेछ भने अफगानिस्तानले सोही मितिमा मंगोलियासँग खेल्ने कार्यक्रम तय भईसकेको छ ।

(Pic: Bangladesh FA)

Post Comments