News किंग्स कपः भारतमाथि इराकको कठिन जित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । बिहीबारदेखि थाइल्याण्डमा शुरु प्रतिष्ठित किंग्स कपको ४९औं संस्करणमा बलियो इराकले भारतमाथि कठिन जित निकाल्दै फाइनल प्रवेश गरेको छ । फिफा वरियतामा ७०औं स्थानमा रहेको इराकले ९९औं स्थानको भारतमाथि टाईब्रेकरमा जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।

थाइल्याण्डको चियाङ माई शहरमा भएको खेलमा भारतले दुई पटकको अग्रता जोगाउन सकेन । खेलको १७औं मिनटमा महेश सिंहको गोलबाट भारतले खेलमा सनसनीपूर्ण अग्रता लिएको थियो । तर २८औं मिनटमा अली इब्राहिम करिमले इराकका लागि पेनाल्टीबाट बराबरी गोल फर्काएका थिए ।

त्यस्तै दोस्रो हाफको ५१औं मिनटमा इराकी गोलरक्षक जलाल हसनकै त्रुटीपूर्ण आत्मघाती गोलबाट भारतले फेरि खेलमा अग्रता बनाएको थियो । तर त्यो अग्रता पनि भारतले अन्तिम समयतिर गुमाउन पुग्यो । ८०औं मिनटमा आइमन हुसेनले फेरि इराकका लागि पेनाल्टीबाट गोल गर्दै खेललाई २–२ को रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

टाईब्रेकरमा भने भारतका ब्रेन्डन फर्नान्डेजले पेनाल्टी चुकाउँदा इराकले ५–४ को जित निकाल्न सफल भएको थियो । भारतले अब १० सेप्टेम्बर आइतबारका दिन हुने थेस्रो स्थानको प्ले अफ म्याचमा लेबनानको सामना गर्नेछ ।

लेबनान र भारत यस वर्ष तेस्रोपटक भिड्न लागेका हुन् । यसअघि यी दुई टोली भारतमा इन्टरकन्टिनेन्टल कप र साफ च्याम्पियनसिपमा भिडेका थिए । र, दुवै खेलमा भारतले जित हात पार्दै प्रतियोगिताको उपाधि पनि जितेको थियो ।

त्यस्तै बिहीबार नै लेबनानलाई १–२ ले हराएको आयोजक थाइल्याण्डले १० सेप्टेम्बर आइतबार कै दिन हुने फाइनलमा इराकसँग उपाधिका लागि भिड्नेछ ।

Post Comments