News गोलको वर्षा गर्दै भारत फाइनलमा
गोलनेपाल

काठमाडौं । फराकिलो र एकतर्फी जितका साथ साविक विजेता भारत भुटानमा जारी साफ यु–१६ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा भारतले माल्दिभ्समाथि ८–० को एकतर्फी जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।

थिम्पु स्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलको २२औं मिनटमा विशाल यादवको गोलबाट भारतले खेलमा अग्रता लिएको थियो । ३६औं मिनटमा मोहम्मद कैफले त्यो अग्रता दोब्बर पारे । पहिलो हाफसम्म भारतले २–० कै अग्रता कायम राख्यो ।

यद्यपि दोस्रो हाफमा भने भारत थप आक्रमक र हावी बन्यो । ५३औं मिनटमा लेविस जङमिनलुनले भारतका लागि तेस्रो गोल गरे । त्यस्तै अर्बोलाङ खर्थङमाले ६२औं मिनटमा चौथो गोल थपे । मनभा कुपरले ७०औं मिनटमा भारतका लागि पाँचौं गोल गरे ।

तर भारत त्यति मै रोकिएन । ७७औं मिनटमा मोहम्मद अर्बाशले भारतीय टोलीका लागि छैठौं गोल गर्न सफल भए । त्यस्तै ८२औं मिनटमा अर्बोलाङ खर्थङमाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि सातौं गोल गरे भने त्यसको दुई मिनट लगतै मोहम्मद अर्बाशले व्यक्तिगत दोस्रो तथा भारतका लागि आठौं गोल गर्दै टोलीको जित पक्का गरे ।

अब भारतले शुक्रबार नै हुने दोस्रो सेमिफाइनलतर्फ पाकिस्तान र बंगलादेशबीचको विजेतासँग सेप्टेम्बर १० तारीख आइतबारका दिन उपाधिका लागि फाइनल खेल्नेछ ।

Post Comments