News तनावपूर्ण खेलबाट कनकाई सेमिफाइनलमा
रमेश समदर्शी

झापा । तनावपूर्ण खेलबाट कनकाई नगर खेलकुद विकास समिति झापा १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पाहुना टोली चौदण्डी नगरपालिका उदयपुरलाई २–१ गोलअन्तरमा पराजित गर्दै कनकाईले अन्तिम चारमा स्थान पक्का गरेको हो । अर्जुनधारा ९ स्थित नमूना खेलमैदानमा आयोजित पहिलो क्वाटरफाइनलको दोस्रो हाफ तनावग्रस्त बन्यो ।

पहिलो हाफमा १ गोलले पछि परेको स्थितिलाई उल्टाउँदै कनकाईले बाजी मारेको हो । पहिलो हाफको अग्रतालाई जोगाउन नसक्दा चौदण्डी पहिलो खेलबाटै बाहिरियो ।

पहिलो हाफको ३१औँ मिनेटमा चौदण्डीकी चोमोलुङ्मा राईले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । तर, दोस्रो हाफको १४औँ मिनेटमा कनकाईकी खेलाडीसँग ठोक्किँदा चौदण्डीकी निता राई घाइते भएकी थिइन् ।

एक खेलाडी कम भएको फाइदा उठाउँदै कनकाईले बराबरी गोल गरेको थियो । कनकाईकी कुसुम खतिवडाले दोस्रो हाफको १४औँ मिनेटमा गोल गरिन् ।

चौदण्डीकी निताको टाउकोमा गहिरो चोट लागेपछि उपचारार्थ हस्पिटल लग्नुपरेको थियो । प्राथमिक उपचारकै क्रममा कनकाईले गोल गरेर बराबरी गरेको हो ।

रेफ्रीको निर्णय चित्त नबुझेको भन्दै चौदण्डीकी कप्तान नमिता राईले दुव्र्यवहार गरेपछि रातो कार्ड पाउँदै बाहिरिएकी थिइन् । १० खेलाडीमा सीमित चौदण्डीकै मनिता तामाङले पनि दोहोरो पहेँलो कार्ड पाएपछि ९ खेलाडीमा सीमित हुनु परेको थियो ।

दोस्रो हाफको २८औँ मिनेटमा कनकाईकी लक्ष्मी श्रेष्ठले गोल गर्दै टिमको अग्रता दोब्बर बनाइन् । प्रतिस्पर्धात्मक खेलमा तनाव सिर्जना भएपछि केही समय खेल रोकिएको थियो ।

खेलको वुमन अफ दी म्याच कनकाईकी जुनु मगर घोषित भइन् । उनलाई नमुना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भानु श्रेष्ठले नगद ३ हजार पुरस्कार प्रदान गरे ।

शनिबार पारिजात महिला फुटबल क्लब झापाले धनकुटा जिल्ला फुटबल संघसँग दोस्रो क्वाटरफाइनल खेल खेल्नेछ ।

महिला फुटबल खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले सुखानी सहिद स्मृति प्रतिष्ठान अर्जुनधारा–९ झापाको आयोजनामा गरिएको यस प्रतियोगिता १ नम्बर प्रदेशमै सर्वाधिक राशिको हो ।

गोल्डकपमा ९ जिल्लाका १० टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेताले नगद १ लाख २५ हजार पाउँदा उपविजेताले नगद ७५ हजार पाउनेछ । अन्य विधागत पुरस्कारतर्फ बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्डले जनही ७ हजार पाउँदा फाइनल खेलको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार प्रदान गरिनेछ ।

त्यस्तै, फेयर प्ले टिमलाई आयोजकले नगद १० हजार प्रदान गर्नेछ भने वुमन अफ दी टुर्नामेन्ट बन्ने खेलाडीलाई नगद १२ हजार पुरस्कार प्रदान गरिनेछ ।

Post Comments