News दोस्रो कार्तिकेय कुमार गोल्डकपमा बिरगंजको विजयी शुरुवात
गोलनेपाल

कर्जन्हा । शनिबारदेखि शुरु दोस्रो कार्तिकेय कुमार गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा बिरगंज युनाइटेड, पर्साले विजयी शुरुवात गरेको छ । बन्दीपुर प्राङ्गणको खेलमैदानमा भएको उद्घाटन खेलमा बिरगंजले बसाहा क्लब, उदयपुरलाई ३–० ले हराउँदै विजयी शुरुवात गरेको हो ।

बिरगंजको जितमा समिन क्षेत्रीले दुई गोल गरे भने थप एक गोल समिर कुँवरले गरे । खेलमा बिरगंजका लागि दुई गोल गरेका समिन क्षेत्री म्यान अफ द म्याच पनि चुनिए । उनले पुरस्कार वापत नगद १५०० र ट्रफी हात पारे ।

यो जितसँगै बिरगंज प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत मंसिर १० गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल बन्दीपुर एफसी, सिरहा र सशस्त्र प्रहरी बल, बर्दिबास बीच हुने आयोजकले जानकारी दियो ।

कर्जन्हा नगरपालिका शिक्षा तथा खेलकुद शाखा, सिरहाको आयोजना तथा बन्दीपुर युथ क्लब, कर्जन्हा, सिरहाको सह–आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

त्यस्तै विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने यही मंसिर १६ गतेका दिन हुने पनि आयोजकले जानकारी दियो ।

Post Comments