
कर्जन्हा । बिरगंज युनाइटेड, पर्सा यहाँ जारी दोस्रो कार्तिकेय कुमार गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा बिरगंजले सरस्वती युथ क्लब, काठमाडौंलाई ३–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।
बन्दीपुर प्राङ्गणको खेलमैदानमा भएको खेलमा बिरगंजका लागि सागर चौधरीले दुई गोल गरे भने अमर डंगोलले थप एक गोल गरेका थिए । पराजित सरस्वतीका लागि मिलन राईले एक मात्र गोल फर्काए ।
खेलमा दुई गोल गरेका बिरगंजका सागर चौधरी म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद १५०० र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत मंसिर १४ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल बागमती युथ क्लब, सर्लाही र एपिएफ, बर्दिबास बीच हुने आयोजकले जानकारी दियो ।
कर्जन्हा नगरपालिका शिक्षा तथा खेलकुद शाखा, सिरहाको आयोजना तथा बन्दीपुर युथ क्लब, कर्जन्हा, सिरहाको सह–आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।
त्यस्तै विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने यही मंसिर १६ गतेका दिन हुने पनि आयोजकले जानकारी दियो ।