News प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग : गौरादह र शिवसताक्षी नगरपालिका
गोलनेपाल

झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा गौरादह र शिवसताक्षी नगरपालिका विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा गौरादहले कनकाई नगरपालिकालाई हराएको हो । पहिलो जित दर्ता गर्दै गौराहदले ३ अंक जोडेको छ । समान दुई खेल खेलेको कनकाईले अंक जोड्न सकेको छैन ।

समूह ख मा रहेका गौरादह र भद्रपुर ब्लेजर्सको समान ३ अंक भएको छ । तर, गोल अन्तरमा भद्रपुर ब्लेजर्स अगाडि छ । त्यस्तै, झापा गाउँपालिका ६ अंकका साथ शीर्ष स्थानमा छ । अंकविहीन रहेको कनकाई पुच्छरमा छ ।

गौरादहले कनकाईलाई ३–२ गोल अन्तरले हराएको हो । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलको १० औँ मिनेटमा गौरादहका तर्फबाट नविन श्रेष्ठले गोल गरे । त्यस्तै, खेलको ३० औँ मिनेटमा कुशल लिम्बू र ४७ औँ पुनः नविन श्रेष्ठले गोल गरेर जित निश्चित गरेका थिए ।

कनकाईका लागि ६३ औँ मिनेटमा अभिषेक राजवंशी र ६७ औँ मिनेटमा साहेब मुर्मूले गोल गरे पनि हार टार्न सकेनन् ।

खेलको प्लेयर अफ दि म्याच गौरादहका नविन श्रेष्ठ भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, समाजसेवी रोहित बुढाथोकी, समाजसेवी पवन श्रेष्ठले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

यसैबीच, आज भएको दोस्रो खेलमा शिवसताक्षी नगरपालिका विजयी बन्यो । शिवसताक्षीले दमक नगरपालिकालाई २–० गोल अन्तरले हरायो । शिवसताक्षीका लागि पहिलो गोल ११ औँ मिनेटमा अन गोलमार्फत पुरस्कार प्राप्त भएको थियो । दोस्रो गोल ५३ औँ मिनेटमा आकाश पौडेलले गरेका थिए ।

खेलको प्लेयर अफ दि म्याच शिवसताक्षीका आकाश पौडेल भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, वरिष्ठ उपाध्यक्ष आदित्य पराजुली, शिवसताक्षीका नगरप्रमुख मेगाहाङ थोप्रा, समाजसेवी जगदीश जोशीले नगद दुई हजार र ट्रफी प्रदान गरे । फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगितमा झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी प्रतियोगितामा १५ वटा टिमले प्रतिस्पर्धा गर्दै छन् ।

१८ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

खेल तालिकाअनुसार समूह ‘क’ मा हल्दिबारी, बिर्तामोड र बुद्धशान्ति रहेका छन् । समूह ‘ख’ मा कनकाई, भद्रपुर ब्लेजर्स, झापा र गौरादह, समूह ‘ग’ मा कचनकवल, बाह्रदशी, मेचीनगर र भद्रपुर तथा समूह ‘घ’ मा कमल, दमक, शिवसताक्षी र अर्जुनधारा रहेका छन् ।

प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछन् । क्वार्टर फाइनलका खेल मंसिर १९ र २० गते हुने छन् । सेमिफाइनलका खेल मंसिर २२ गते हुने छन् ।

प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

Post Comments