News गाईघाटलाई महिला फुटबलको उपाधि
गोलनेपाल

कर्जन्हा । यहाँ जारी दोस्रो कार्तिकेय कुमार गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलको पूर्व सन्ध्यामा शुक्रबार भएको एक दिने मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिताको उपाधि गाईघाट फुटबल क्लबले जितेको छ ।

बन्दीपुर प्राङ्गणको खेलमैदानमा भएको खेलमा गाईघाटले घरेलु टोली सर्लाही–११ लाई शून्यका विरुछ ६ गोलको फराकिलो अन्तरले हरायो । गाईघाटको जितमा समिक्षा मगरले ह्याट्रिक गरिन् । त्यस्तै दुई गोल पूर्णिमा राईले गरिन् भने थप एक गोल प्रतिक्षा राईले गरिन् ।

विजेता बनेको गाईघाटले उपाधिसहित प्रोत्सहन रकम वापत नगद ५१०० हात पार्यो भने उपविजेता सर्लाहीले २५०० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । विजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमकी प्रमुख अतिथी कर्जन्हा नगरपालिका, सर्लाहीकी उपमेयर लक्ष्मी कुमारी श्रेष्ठले पुरस्कृत गरेकी थिईन् ।

मधेश प्रदेशको खेलकुदमा महिला खेलाडीहरुको उपस्थितिलाई थप बढावा दिन यस्ता प्रतियोगिताहरुले मुख्य भूमिका खेल्ने उपमेयर श्रेष्ठले बताईन् । साथै नगर भित्र हुने यस्ता प्रतियोगिताहरुलाई नगरपालिकाको पनि सक्दो साथ र सहयोग रहने पनि उनले बताईन् ।

स्मरण रहोस, कर्जन्हा नगरपालिका शिक्षा तथा खेलकुद शाखा, सिरहाको आयोजना तथा बन्दीपुर युथ क्लब, कर्जन्हा, सिरहाको सह–आयोजनामा जारी दोस्रो कार्तिकेय कुमार गोल्डकपको फाइनलमा शनिबार बागमती युवा क्लब, सर्लाही र बिरगंज युनाइटेड, पर्सा भिड्दै छन् ।

 

Post Comments