News कनकाईलाई पहिलोपटक महिला गोल्डकपको उपाधि
रमेश समदर्शी

झापा । कनकाई नगर खेलकुद विकास समिति झापाले सुखानी सहिद स्मृति महिला गोल्डकपको उपाधि पहिलोपटक जितेको छ । फाइनलमा साविक विजेता कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङलाई २–१ हराउँदै कनकाईले उपाधि उचालेको हो ।

अर्जुनधारा ९ खरबन्दीस्थित नमुना खेलमैदानमा सम्पन्न फाइनल भिडन्तमा कनकाईका लागि २८औं मिनेटमा लक्ष्मी श्रेष्ठ र ५९औँ मिनेटमा सरिता शेर्पाले गोल गरेका थिए । उता पराजित कर्णसिंहका लागि खेलको ६९औं मिनेटमा पवित्रा लिम्बूले गोल गरे पनि टोलीको हार भने टार्न सकेनन् ।

प्रतियोगिताको विजेता कनकाईले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्यो भने उपविजेता ताप्लेजुङले ७५ हजारमा चित्त बुझायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी कनकाईकी कुसुम खतिवडाले १२ हजार, फाइनल खेलको वुमन अफ द म्याच कनकाईकी नेहा चौधरीले पाँच हजार र बेस्ट कोच कनकाईका सन्त रायमाझीले पाँच हजार प्राप्त गरे ।

त्यस्तै बेस्ट फरवार्ड कनकाईकी लक्ष्मी श्रेष्ठ, बेस्ट मिडफिल्डर ताप्लेजुङकी सुनकला राई, बेस्ट डिफेन्स कनकाईकी सुस्मिता चौधरी र बेस्ट गोलकिपर कनकाईकी जशोदा लावतीलाई जनही सात हजार प्रदान गर्दा प्रतियोगिताको फेयर प्ले पारिजात महिला फुटबल क्लब झापालाई नगद १० हजारसहित ट्रफी प्रदान गरियो ।

Post Comments