News लालीगुराँस र बेसिशहर युथ सेमिफाइनलमा, सेमिफाइनल समिकरण पनि पूरा
गोलनेपाल

बेसिशहर । लालीगुराँस युथ क्लब, भुजुङ र बेसिशहर युथ सोसाईटी, सेरा यहाँ जारी ३१औं त्रिवेणी कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम दुई टोली बनेका छन् ।

बिहीबार त्रिवेणी रंगशालामा भएको तेस्रो क्वाटरफाइनलमा लालीगुराँसले दावेदार मानिएको विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्यो ।

लालीगुराँसका लागि २०औं मिनटमा बिशाल घलान र ३५औं मिनटमा निरज चौधरीले गोल गरे । लालीगुराँसका बिशाल घलान खेलको म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार हात पारे ।

चौथो क्वाटरफाइनलमा बेसिशहरले एलजी एसोसिएशन, पोखरालाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । बेसिशहरका लागि ३९औं मिनटमा स्टेफन बिनङले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो । बेसिशहरका गोलरक्षक टिकेन्द्र थापा म्यान अफ द म्याच चुनिए । उनले पनि पुरस्कार वापत नगद ५ हजार हात पारे ।

बिहीबारको खेलहरुसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । पुस २० गते शुक्रबार हुने पहिलो सेमिफाइनलमा अभिषेक चर्च, रजहरले लालीगुराँस युथ क्लब, भुजुङको सामना गर्नेछ भने सोही दिन हुने दोस्रो सेमिफाइनलमा बेसिशहर युथ सोसाईटी, सेरा र लङ्दीदेवी युथ क्लब, नाल्मा भिड्ने छन् ।

त्रिवेणी युवा क्लब, बेसीशहर, लमजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही पुस २१ गतेका दिन हुनेछ ।

Post Comments