News जनप्रतिनिधि र लहान भेट्रान्स विजयी
रमेश समदर्शी

लहान । दोस्रो लहान मेयर गोल्डकप २०८० को अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा लहान नगरपालिकाका जनप्रतिनिधि र लहान भेट्रान्स विजयी भएका छन् ।

पशुपति आदर्श माविको खेलमैदानमा आज भएको पहिलो खेलमा लहान भेट्रान्सले कटारी भेट्रान्सलाई ३-० गोलले पराजित गरेको हो । लहानका लागि शिवशंकर चौधरी, श्यामसुन्दर सिंह र हेमन्त चौधरीले गोल गरे ।

यस्तै, दोस्रो खेलमा लहान नगरपालिकाका कर्मचारीलाई जनप्रतिनिधिले २-० गोलले पराजित गर्यो । नगरपालिकाका मेयर श्यामप्रसाद चौधरीको कप्तानीमा उत्रिएको जनप्रतिनिधिविरुद्ध कर्मचारीले गोल फर्काउन सकेनन् ।

जनप्रतिनिधिको जितका लागि वडा नम्बर १ का अध्यक्ष युगलकिशोर चौधरी र १३ नम्बर वडाका अध्यक्ष मनोज कोइरालाले गोल गरेका हुन् । विजेता लहान भेट्रान्सले नगद १० हजार र उपविजेता कटारी भेट्रान्सले नगद ७ हजार ट्रफी पायो भने विजेता जनप्रतिनिधिको टोलीले नगद ५ हजार र उपविजेता कर्मचारीको टोलीले नगद ३ हजार र ट्रफीमा चित्त बुझायो ।

Post Comments