News एपीएफ झापा गोल्डकपको फाइनलमा
रमेश समदर्शी

बिर्तामोड । आत्मघाती गोलको उपहारसँगै सशस्त्र प्रहरी बलको एपीएफ एफसी झापामा जारी छैटौँ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । एपीएफ पहिलोपल्ट झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।

चारपटकको झापा गोल्डकप विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै एपीएफ फाइनल प्रवेश गरेको हो । एपीएफ फाइनल प्रवेश गरेसँगै छैटौँ संस्करणको च्याम्पियन नयाँ टोली बन्ने निश्चित भएको छ ।

दोस्रो संस्करणमा मनाङ मस्र्याङ्दी क्लबले उपाधि रक्षा गरेको थियो भने बाँकी चार संस्करणमा आर्मी हाबी भएको थियो । झापा ११ एफसी हरेक संस्करणको फाइनलमा प्रवेश गरे पनि उपाधि रक्षा गर्न भने सकेको छैन । झापाले भोलि चर्च ब्वाइज युनाइटेड क्लबले अन्तिम सेमिफाइनल खेल खेल्ने छ ।

जितसँगै एपिएफले कम्तिमा ७ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । आर्मीको आत्मघाती गोलको उपहारबाट फाइनल यात्रा गरेको एपीएफका विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरेको बल खेलको ७०औँ मिनेटमा आत्मघाती भएको थियो ।

फोफोनाको प्रहार आर्मीका रक्षक कमल थापालाई लाग्दै गोल भएको थियो । फोफोना खेलको प्लेयर अफ दी म्याच बन्दै नगद ११ हजार पाउन सफल भए ।

विजेता टिम एपीएफका प्रशिक्षक सुमन श्रेष्ठले विदेशी खेलाडीलाई झापाको मौसममा खेल्न सहज भएकाले जित निकाल्न सकेको पोस्ट म्याच कन्फ्रेन्समा बताए । उनले खेलाडीबीच तालमेल मिल्दै गएकाले फाइनलमा यो भन्दा सुधारिएको प्रदर्शन गर्ने दाबी गरेका छन् ।

आर्मीका प्रशिक्षक मेघराज केसीले टोलीका नियमित सदस्य दिनेश हेम्जन र जिलस्पीजंग कार्की घाइते भएकाले उनीहरुको अभाव खड्किएको बताए । मिडफिल्ड चल्न नसक्दा स्कोर ननिस्केको उनको भनाइ छ ।

प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ । प्रतियोगितामा ए डिभिजन क्लबसहित नेपालका १० टिमको सहभागिता रहेको छ । फाइनल खेलको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी र उपविजेताले नगद ७ लाख पाउनेछ ।

Post Comments